काठमाडौं । होटेल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले होटेल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिन सरकारसमक्ष माग गरेका छन् ।
होटेल सङ्घ नेपालले आफ्नो स्थापना दिवसका अवसरमा मनाउन सुरू गरेको ‘प्रथम सत्कार दिवस, २०८०’ को अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकको वार्षिक बजेटसरहको लगानी भएको होटेल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिन माग गरेका हुन् ।
‘एक जना पर्यटक आउँदा नौ जनाले रोजगारी पाउँछन् । एक तथ्याङ्क अनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको आठ प्रतिशत योगदान छ । विदेशी मुद्राको प्रमुख आयस्रोतमध्येको एक पर्यटनलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिनुपर्छ,’ उनले भने ।
यसैगरी, सङ्घका महासचिव साजन शाक्यले नेपाललाई कृषि प्रधानबाट पर्यटन प्रधान देशका रुपमा पहिचान स्थापिन गराउनुपर्नेमा जोड दिए । सो अवसरमा होटेल क्षेत्रमा योगदान गर्ने सङ्घका पूर्वअध्यक्षहरु श्यामबहादुर पाण्डे, योगेन्द्र शाक्य, नरेन्द्र ताम्राकार, प्रकाश श्रेष्ठ, प्रसिद्धबहादुर पाण्डे र सिर्जनालाई राणालाई सङ्घले राष्ट्रपति पौडेल दोसल्ला र कदरपत्रद्वारा सम्मान गरे ।
सोही अवसरमा राष्ट्रपति पौडेलले सङ्घले प्रकाशन गरेको ‘इयर बुक २०२४’ विमोचन गरे । साथै, ‘सत्कार दिवस २०८०’ अनावरण तथा ‘नेपाली हेरिटेज फुड वेस्ट’ र ई–लर्निङ भिडियो पनि अनावरण गरिएको थियो ।
नेपालमा हाल वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने क्षमताका होटेलहरू छन् । सङ्घका अनुसार हाल पाँचतारे, पर्यटकस्तरका होटेल, लज र सिसोर्ट गरी १० हजारभन्दा बढी सञ्चालनमा छन् ।
पर्यटनलाई समृद्धिको आधारका रूपमा स्थापित गर्नुपर्छ : राष्ट्रपति पौडेल
FACEBOOK COMMENTS