सरकारले गर्यो दुई जना सचिवमा र एक जनालाई एआइजीमा बढुवा, सीआईबीमा दीपक थापा
कर्पोरट खबर
10:03 pm, मंगलबार, साउन २२, २०८१
काठमाडौं । सरकारले दुई सहसचिवलाई सचिवमा र नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई अतिरिक्त प्रहरी महानिरीक्षक ९एआइजी० मा बढुवा गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अरुणचन्द्र श्रेष्ठ र परासर ढुङ्गानालाई सचिव पदमा बढुवा गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, “नेपाल न्याय सेवा कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ९सहसचिव० अरुणचन्द्र श्रेष्ठलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा सचिव पदमा बढुवा गर्ने निर्णय गरेको र उहाँलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदस्थापना गरिएको छ ।” सचिव पदमा बढुवा भएका अर्का सहसचिव परासर ढुङ्गानालाई नेपाल कानुन आयोगमा पदस्थापना गरिएको उनले जानकारी दिए ।
प्रवक्ता गुरुङले भने, “नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलाई नेपाल प्रहरीको जनपथ प्रहरीतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरिएको छ ।” उनका अनुसार नेपाल प्रहरी तर्फका एआइजीहरूको सरुवा तथा पदस्थापना गरिएको मन्त्री गुरुङको भनाइ छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा सरुवा गरिएको प्रवक्ता गुरुङले जानकारी दिए । उनका अनुसार अनुसन्धान ब्युरो लाजिम्पाटबाट श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा सरुवा गरिएको छ ।
यसैगरी नेपाल प्रहरी प्रधान कार्यालयबाट किरण बज्राचार्यलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापना गरिएको मन्त्री गुरुङले जानकारी दिए । उनका अनुसार आज एआइजीमा बढुवा भएका रामदत्त जोशी नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालबाट प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
FACEBOOK COMMENTS