काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड, एमएडब्लू वृद्धि मोटर्स तथा एमएडब्लू वृद्धि अटोकर्पबीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लू वृद्धि मोटर्स प्रालि तथा एमएडब्लू वृद्धि अटोकर्प मोटर्स प्रालिका ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार एमएडब्लू वृद्धि मोटर्स एवम् एमएडब्लू वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले बिक्री गर्ने विद्युतीय गाडीहरू दीपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीहरूले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको ३ कार्यदिनभित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गरिनेछ । दीपल र सेरेस ब्राण्डका विद्युतीय गाडीहरू नेपाली प्रयोगकर्ताहरूमाझ लोकप्रिय छन् र उक्त कम्पनीले नाम्मी ब्राण्डको नयाँ विद्युतीय गाडी नेपाली बजारमा बिक्री सुरूआत गरिसकेको छ ।
ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइर्एमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटिीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
FACEBOOK COMMENTS