काठमाडौं, बैशाख २७- क्यान महासंघले कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि गरिएको लकडाउन (बन्दाबन्दी)बाट सञ्चार तथा सूचना प्रविधि प्रभावित भएको भन्दै उक्त क्षेत्रलाई अत्यावश्यक सेवाअन्तर्गत सम्बोधन गर्न माग गरेको छ ।
क्यान महासंघले शुक्रबार संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव मार्फत संचार तथा सूचना प्रविधि मन्त्री माननीय डा युवराज खतिवडालाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै यस्तो धारणा राखेको हो ।
क्यान महासंघका अध्यक्ष नवराज कुंवरले हस्ताक्षर गरेको ज्ञापनपत्रमा नेपालमा बन्दाबन्दीपछि अर्थतन्त्र नराम्ररी थला परेको उल्लेख गर्दै अत्यावश्यक सेवा बाहेक अन्यक्षेत्रका लाखौं मजदूर प्रत्यक्ष रुपमा प्रभावित भएको भनिएको छ ।
मन्त्रिपरिषदको बैशाख २४ गते बसेको बैठकले बन्दाबन्दीलाई आगामी जेठ ५ गतेसम्म लम्ब्याउने र थप उद्योगधन्दाहरु सुचारु गर्ने निर्णय स्वागत योग्य भएको भन्दै ३ दर्जनभन्दा बढी उद्योग तथा व्यवसाय सुचारु गर्ने सूची प्रस्तुत गरे पनि त्यसमा सञ्चार तथा सूचनाप्रविधि क्षेत्र नसमेटिएकोमा दु ख व्यक्त गरेको छ ।
ज्ञापनपत्रमा बन्दाबन्दीको यो समयमा औषधीउपचारपछि सबैभन्दा महत्वपूर्ण सेवा सञ्चार तथा सूचना प्रबिधिको क्षेत्र भएको भन्दै टेलिफोन र इन्टरनेटको प्रयोगले एक अर्कालाई जोड्न ठूलो मद्धत पुगिरहेता पनि सरकारको प्राथमिकतामा यो क्षेत्र नपर्नु विडम्बना हो भनिएको छ ।
यो क्षेत्रको महत्व र संवेदनशीलतालाई मनन गरी सरकारले तत्कालै वातावरण सहज गराउनमा ध्यान दिन क्यान महासंघले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS