काठमाडाैं । नेपालकै पहिलो केबलकार मनकामना केबलकार सेवा प्रारम्भको २६ वर्ष पूरा गरी २७ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले आगामी वर्षहरूमा अझ स्तरीय सेवा दिने प्रतिबद्धता जाहेर गरेको छ ।
२६ औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले केबलकारका स्रष्टा स्व. लक्ष्मणबाबु श्रेष्ठको यस साहसिक एवं ऐतिहासिक कार्यलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । केबलकार सञ्चालनमा आएपछि प्रसिद्ध तीर्थस्थल मनकामना साथै यस वरिपरिका क्षेत्र भारतलगायत विश्वभरमा नै एक प्रमुख गन्तव्यका रूपमा स्थापित भइसकेको छ । २६ वर्ष पुगिसकेको अवस्थामा ‘एनालग’ प्रविधिको मर्मत सम्भार गर्नुका साथै स्पेयर पार्टससमेत पाउन कठिनाइ हुने स्थितिलाई मध्यनजर गर्दै कम्पनीले यस प्रविधिलाई हालकै नवीनतम ‘डिजिटल’ प्रणालीमा स्तरोन्नति गरेको छ ।
साथै मनकामनामा केबलकार हाताभित्र नै सुविधासम्पन्न रिसोर्ट निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । यो रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेष्टुरेन्टको सुविधा हुनेछ । रिसोर्ट सञ्चालनमा आएपछि मनकामना र वरिपरिका क्षेत्रलाई धार्मिक साथै अन्य पर्यटकीय महत्त्वको गन्तव्य बनाउने कम्पनीको लक्ष्य छ ।
सञ्चालनमा आएपछि मनकामनामा सुरूआती वर्षमा १० लाख यात्रुहरूलाई सेवा दिएकामा यो क्रमशः बढ्दै गएको छ र हाल वार्षिक १२ लाख यात्रुलाई सेवा दिँदै आएको कम्पनीले जनाएको छ । कम्पनीले यस वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिएको छ ।
स्व. लक्ष्मणबाबु श्रेष्ठकै पालादेखि उनको नीतिअनुसार कम्पनीले सुरूदेखि नै सामाजिक व्यावसायिक उत्तरदायी (सीएसआर) नीति अवलम्बन गर्दै आएको छ । यसअन्तर्गत मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्न वर्ग/जातिहरूलाई सहयोग गर्दै आएको छ विनाशकारी गोरखा भूकम्पमा समेत संस्थाले सहयोग गरेको थियो ।
सीएसआर नीतिअनुसार नै कम्पनीले केबलकार टिकट आम्दानीको कुल रकमको १-१ प्रतिशतका दरले कुल २ प्रतिशत रकम शहीद लखन गाउँपालिका गोरखा र इच्छाकामना गाउँपालिका चितवनलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति र सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि बर्सेनि सहयोग गर्दै आएको छ ।
FACEBOOK COMMENTS