सिरहा । मजदुरले सम्मानजनक पारिश्रमिक पाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
दलित जनकल्याण युवा क्लवद्वारा आज लहानमा आयोजित अन्तरक्रियामा उनीहरुले ‘श्रम निर्देशिका’ बनाइ उक्त समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् । अधिकांश वक्ताले अनौपचारिक क्षेत्रका श्रमिकलाई उचित र सम्मानजनक पारिश्रमिक दिनुपर्ने भनाइ राखे ।
लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले अनौपचारिक क्षेत्रमा कार्यरत घरेलु कामदार, इँटा भट्टामा काम गर्ने श्रमिक, गिट्टी बालुवा चाल्ने कामदार, हरवाचरवा, मकै पोल्ने, सवारी साधनका सहचालक, निर्माण क्षेत्रका श्रमिक आदिलाई श्रमिक ऐनले अझै पनि समेट्न नसकेको उल्लेख गरे । “जो कमजोर छ उसलाई राज्यले उच्च प्राथमिकताका साथ समेट्न आवश्यक देखिन्छ”, नगरप्रमुख चौधरीले भने, “मजदुरको कामको उचित मूल्याङ्कन हुनुपर्छ ।” नगरपालिकाले चाँडै श्रम निर्देशिका बनाउन लागेको पनि उनले जानकारी दिए ।
नेपाल ट्रेड युनियन सिरहाका अध्यक्ष सञ्जिव उपाध्यायले स्थानीय तहले श्रम ऐन बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै एक वर्षअघि नगरपालिकाबाट ‘श्रमिक परिचालन कार्यविधि’ पारित भए पनि नगरपरिषद्बाट पास हुन नसकेको बताए । उनले उक्त कार्यविधिले अनौपचारिक क्षेत्रका मजदुरका समस्या समाधान गर्ने समेत उल्लेख गरे ।
अधिकारकर्मी मणिलाल विश्वकर्माले स्थानीय तहले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुको यकिन तथ्याङ्क नराखेको उल्लेख गर्दै सङ्घीय सरकारले तोकेको न्यूनतम ज्याला पनि मजदुरहरुले नपाउने गरेको बताए । उनले यस क्षेत्रमा काम गर्ने अधिकांश मजदुर विपन्न दलित तथा भूमिहीन भएकाले स्थानीय तहले काम अनुसारको ज्याला र नागरिकताको समस्या पनि एकसाथ हल गर्नुपर्नेमा जोड दिए ।
लहान नगरपालिका वडा नं २४ का वडाअध्यक्ष राशलाल रायले सामाजिक सुरक्षा प्रदान गर्ने सन्दर्भमा राज्यले प्रभावकारी नीति अपनाउन जरुरी रहेको धारणा राखे । नेपालको संविधानको मौलिक हकमै श्रमको हक उल्लेख गरिएकाले श्रमिकको हित अभिवृद्धि गर्नका लागि सबै सरोकारवाला निकायहरु क्रियाशील हुनुपर्ने उनको भनाइ थियो ।
FACEBOOK COMMENTS