काठमाडौं । नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री रेखा थापाले नेकपा माओवादी केन्द्र ‘चटके पार्टी’ भएको बताएकी छिन् ।
नेकपा माओवादी केन्द्रले सञ्चालन गरिरहेको ‘जनतासँग माओवादी तराइ–मधेश जागरण अभियान’लाई लक्षित गरी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत माओवादीलाई ‘चटके पार्टी’ भएको बताएकी हुन् ।
माओवादीले चलाउँदै आएको हालको अभियानलाई उनले चटकको संज्ञा दिँदै भनेकी छिन्, ‘चटक पनि कति जानेका ? यो देशमा सत्ताबाहिर बस्न यति पीडा महसुस गर्ने माओवादी, आफ्नो समीक्षा कहिले गर्ला ?’
यस्तै, उनले यो अभियानमार्फत भाइरल (लोकप्रिय) बन्न माओवादीका नेताहरू गाउँ छिरेको पनि बताएकी छिन् । ‘छातीमा गोली थाप्नेहरू हराए ? युद्धमा लाग्ने लस्कर हराए ? देशमा नयाँ युग ल्याउँछौँ भन्नेहरू कता हराए ? अब फेरि अभिनय किन ? बरु सिधै भन्नु नि ! हामी राजनीतिमा भाइरल हुने अधुरो रहर बोकेर गाउँ छिरेका छौँ ।’
यसैगरी उनले माओवादीका तत्कालीन बहुक्रान्तिकारी नाराहरूमाथि पनि केही प्रश्न उठाउँदै जनताको जनजीविकामाथि केन्द्रत हुन ध्यानाकर्षण गराएकी छिन् । ‘हाम्रो सत्ता आएपछि सुनको चर्पी हुन्छ भनेको होइन र ? फेरि एकचोटी मधेशतिर लालसेना खोज्न हिँडेछन् कमरेडहरू, पुराना आधार इलाकामा पत्याउन छोडे कि क्या हो ?’
अभिनेत्री रेखाको यो अभिव्यक्तिले माओवादी केन्द्रको वर्तमान अवस्था र नेतृत्वप्रतिको तीव्र असन्तुष्टि रहेको विषय उजागर गरेको छ । माओवादीमै रहेर केही समय काम गरेकी अभिनेत्री रेखाको यो अभिव्यक्तिलाई कतिपयले माओवादीले विगतमा गरेका ठूला–ठूला र क्रान्तिकारी नाराहरूप्रति प्रश्न उठाएको ठानेका छन् ।
FACEBOOK COMMENTS