भक्तपुर । नेपाल किक बक्सिङ संघ भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरमा पहिलो पटक आयोजित फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिताको उपाधि आयोजक टिम भक्तपुरले जितेको छ ।
वैशाख १९ र २० गते सम्पन्न प्रतियोगितामा भक्तपुरले ३ स्वर्ण र ४ रजत पदक सहित उपाधि चुम्दा, मेन रोजो रंगशाला २ स्वर्ण सहित दोस्रो र फाइट क्लब १ स्वर्ण र २ रजत सहित तेस्रो स्थानमा रहे ।
प्रतियोगितामा पुरुष तथा महिला तर्फ गरी ११ तौल समूहमा खेलहरू सञ्चालन गरिए भने दुई वटा प्रो फाइट पनि आयोजना गरिएको थियो। उत्कृष्ट महिला खेलाडी अस्मिता दोङ तामाङ र पुरुष तर्फ सुनिम श्रेष्ठ घोषित भए ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले उद्घाटन गरेको प्रतियोगितामा उनले खेलको माध्यमबाट समाजको विकास पनि सम्भव हुने बताउँदै, खेलाडीहरूलाई राष्ट्रको गहना भन्दै उनीहरूको वृत्ति विकासमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
प्रतियोगिता सम्पन्न भएको जगातीको इट्टा टाइल कारखानाको हलमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। स्थान अभावका बाबजुद दर्शकको उत्साहप्रति आयोजक समिति उत्साहित देखिएको थियो ।
प्रतियोगितामा काठमाडौं, ललितपुर, मकवानपुर, चितवन, धादिङ, सिन्धुपाल्चोक, नुवाकोटलगायत २० जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो ।
खेल समापन समारोहमा बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरे । उनले भविष्यमा भक्तपुरको ऐतिहासिक स्थल पाँचतले वा दत्तात्रय परिसरमा यस्ता प्रतियोगिता आयोजना गर्न सकिने सुझाव पनि दिए ।
समारोहमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा अध्यक्षहरू, खेल संघ संस्थाका प्रतिनिधिहरू र प्रशिक्षकहरूको उपस्थिति थियो ।
प्रतियोगिता बिना कुनै विवाद तथा चोटपटक सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।
FACEBOOK COMMENTS