मकै बेचेरै शान्त छ शान्तिको जीवन, बुढेसकालमा पनि कम छैन जोश
'काम गर्नैपर्छ भनेर मानसिक रूपमा तयार भएपछि के उमेर, के समस्या ! झन्–झन् बानी पो पर्दो रहेछ ।'
कर्पोरट खबर
9:12 am, बिहीबार, जेठ ८, २०८२
धरान (सुनसरी) । शहर बिउँझिनुअघि नै बिउँझिन्छिन्, शान्ति श्रेष्ठ । एकाबिहानै सूर्य नउदाउँदै धरानबाट गाडी चढेर मोरङको भावन्ने पुग्छिन् । मकै किनेर फेरि धरान । त्यति बेलासम्म १० त कहिले ११ बजिसकेको हुन्छ । त्यसपछि सुरु हुन्छ आगो र धुवासँग खेल्न । उनले दिनहुँ करिब १६० घोगा मकै पोलेर बेच्छिन् । एकदिन होइन, दुई दिन पनि होइन, तीन दशकदेखि यस्तै चलिरहेको छ धरान उपमहानगरपालिका–१६ निवासी ५९ वर्षीया श्रेष्ठको दिनचर्या ।
उमेर ढल्किँदै छ, तर जाँगर उस्तै छ । काम गरेर आत्मनिर्भर बन्ने उनको सपना झन् तन्नेरी बन्दै गएको छ । ‘काम गर्नैपर्छ भनेर मानसिक रूपमा तयार भएपछि के उमेर, के समस्या ! झन्–झन् बानी पो पर्दो रहेछ । त्यसैले सुरुआती दिनदेखि अहिलेसम्म कहिल्यै कामलाई बोझ मानेकी छैन,’ श्रेष्ठले भने ।
उनका अनुसार मोरङकै विभिन्न ठाउँबाट मकैबारी नै ठेक्कामा लिएर कारोबार गर्ने गरिएको छ । बारीमै मकै ठेक्कामा लिँदा ६० हजार रुपैयाँदेखि एक लाख ५० हजार रुपैयाँसम्म कबोल गर्नुपर्छ । एक्लैले त्यसो गर्न नसकेपछि दुई/तीन जना मिलेर काम भइरहेको उनले सुनाइन् । ‘साथीहरूसँग मिलेर ठेक्का लिँदा अलिक सस्तो हुन्छ तर सधैँ नाफा, घाटा मात्रै हुँदैन । कहिले घाटा त कहिले फाइदाको व्यापार हुन्छ,’ श्रेष्ठले भनिन् ।
यसरी ल्याइएको मकै प्रतिघोगा सानो १५ र ठूलो ५० रुपैयाँसम्म बिक्री हुने गरेको छ । यही मकै बेचेर मासिक ७० हजारदेखि ८० हजार रुपैयाँसम्मको कारोबार हुने गरेको उनले बताइन् ।
‘यसरी धरानको एउटा गल्लीको सडकछेउमा खुला आकाशमुनि बसेर मकै बेचिरहेकी छु । न सटर छ, न छानो तर मसँग मेहनत गर्ने आँट छ,’ श्रेष्ठ भन्छिन्, ‘काम गर्यो भने खानाका लागि अभाव हुँदैन, मकै पोलेरै घरव्यवहार चलिरहेको छ । जिन्दगी चलाउने सहारा नै यही काम छ ।’
हाल उनी एकल महिला हुन् । ६ वर्षअघि श्रीमानको निधन भएको थियो । पहिले श्रीमानले सघाउने गरेकामा त्यसयता एक्लैले मकै पोलेर घरव्यवहार चलाएको श्रेष्ठले सुनाइन् ।
‘अब अरू काम गर्न सक्दिनँ, मकै पोल्न खासै गाह्रो भने छैन । खुल्ला आकाशमुनि घाम लाग्दा गर्मी त हुन्छ तर सहनै पर्छ । दुःख हुन्छ भनेर काम छोड्न नि भएन ! यसैले सबै चिज दिएको छ,’ थकित अनुहारमा आशाको भाव झल्काउँदै उनले भनिन् ।
श्रेष्ठले करिब तीन दशकदेखि धरानको लक्ष्मीचोक नजिकैको एउटा गल्लीमा मकै पोल्दै आएका छन् । सुरुदेखि नै यहाँ बसेर उनले हजारौँलाई स्वादिलो मकै दिइरहेकी छन् । त्यसबापत घरखर्च चलाउन र गर्जो टार्न अरूसँग त्यत्तिकै हात फैलाउनु परेको छैन ।
त्यसैले पनि आफ्नो कामप्रति सधैँ माया लाग्ने गरेको श्रेष्ठको भनाइ छ । ‘मेरो उमेरमा अधिकांश मानिसहरू विश्राम र शान्ति खोजिरहेका हुन्छन्, अरूकै सहारामा बाँचिरहका हुन्छन् । मैले भने त्यो अपेक्षा कहिल्यै गरिनँ । आफ्नै कर्म गरेर खाइरहेकी छु, सकुन्जेल काम गर्ने हो, नसकेको दिन जे हुन्छ हुन्छ,’ उनले भनिन् ।
यो उनको हालसम्मको सङ्घर्ष र आत्मनिर्भरतापछि आत्मविश्वास भरिएको अभिव्यक्ति हो । यही आत्मविश्वासले श्रेष्ठलाई आफ्नो कामबाट थकान होइन सधैँ थप काम गर्ने ऊर्जा र प्रेरणा मिलिरहेको छ । ‘जुन दिन म काममा निस्कन्नँ, त्यस दिन छटपटी हुन्छ । श्रम गरेकै कारण आजसम्म टिकिरहेकी छु । बुढेसकाल आयो भनेर घरैमा बसेर हुँदैन, हातखुट्टा चलिरहेकै छन्, सकेसम्म काम गर्नुपर्छ,’ मुस्कुराउँदै उनी भन्छिन्, ‘मकै बेच्ने काम मेरा लागि केवल आम्दानीको स्रोत मात्र होइन, आत्मसम्मानको आधार पनि हो । श्रम गरेपछि पाइने सन्तोष नै असली कमाइ रहेछ ।’
FACEBOOK COMMENTS