काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा ८ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि मंसिरसम्म ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । यो व्यापार गत आवको सोही अवधिको २०.०७ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
यस अवधिको वैदेशिक व्यापारमा नेपालले ६ खर्ब ४९ अर्ब ६८ करोड एक लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ बराबरको थियो । भन्सार विभागका अनुसार चालू आवको पाँच महिनामा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १५.८३ प्रतिशत बढी हो । सो अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
त्यस्तै, यस अवधिमा एक खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५८.१७ प्रतिशत बढी हो । त्यसबेला ७३ अर्ब ६५ करोड ९७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो । चालू आवको साउनदेखि मंसिरसम्म फलाम, कच्चा भटमासको तेल, डिजेल, पेट्रोल, एलपी ग्यास, स्मार्टफोन सबैभन्दा बढी आयात भएको छ। उच्च आयात भएको भटमासको तेल प्रशोधित बढी निर्यात भएको छ ।
FACEBOOK COMMENTS