काठमाडौं । गत भदौ २९ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी वैकल्पिक शक्ति निर्माणमा लागेकी पूर्वमन्त्री सुमना श्रेष्ठ पुन: रास्वपामै फर्किने तयारी गरेकी छिन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ रास्वपामा समाहित भएसँगै उनी पनि बालेनको पछि पछि लागेर त्यतै फर्किन लागेकी हुन् ।
पार्टीमा आफूविरुद्ध गतिविधि हुन थालेपछि रास्वपा छोडेर उनले तिनै बालेन साहसहित ऊर्जामन्त्री कुलमान घिसिङ र जेन जी आन्दोलन अपहरणकर्ता सुदन गुरुङसँग मिलेर नयाँ र वैकल्पिक शक्ति निर्माणको पहल गरिरहेकी थिइन् । उक्त कार्यमा असफल उनी रास्वपा फर्किने मात्र नभइ बालेनको टीमबाट समानुपातिक सांसदको उम्मेदवार समेत सिफारिस गर्न लागिएको स्रोतको दाबी छ ।
पार्टीमा एक व्यक्तिको देवत्वकरण गरिएको, फरक विचारको सम्मान नगरेको र आफूमाथि अनावश्यकरूपमा मिडिया ट्रायल भएकोजस्ता आरोप लगाउँदै सुमनाले रास्वपा छोडेकी थिइन् ।
बालेनको पछि लागेर रास्वपा फर्किइन् भने पनि सुमना जति सहजै राजनीतिमा उदाइन् र वाहवाही कमाइन् त्यसको गरिमा कायम गर्न अब उनलाई निकै सकस पर्ने छ । भनौँ यतिबेला सुमनाको राजनीतिक जीवन ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भन्ने उखानसँग ठ्याक्कै मेल खान गएको छ ।

बाहाना जे–जे बनाए पनि गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनले फेरिदिएको राजनीतिक माहोलसँगै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी हुन् । बालेन साहले बनाउने भनिएको नयाँ राजनीतिक शक्तिमा समाहित भएर अघि बढ्ने योजनासहित रास्वपा त्यागेकी उनी अहिले ‘वल्लो घाट न पल्लो तिर’की भएकी छिन् ।

बालेन नै रास्वपा प्रवेश गरेपछि अब सुमनाको राजनीतिक बाटो कस्तो होला ? आम चासो बढ्न थालेको छ । त्यसो त वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङले खोलेको उज्यालो नेपाल पार्टीमा प्रवेश गर्ने व्यापक हल्ला पनि थियो, तर अहिलेसम्म उनी त्यो पार्टीमा पनि समाहित हुन सकेकी छैनन् ।

सुमनालाई रास्वपाले २०७९ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभाको सांसद हुँदै शिक्षामन्त्रीसम्म बनाएको थियो । तर, त्यही पार्टीलाई लात हानेर बुर्कुसी मारेकी उनी फेरि रास्वपामै फर्केलिन् कि अरु कुनै शक्तिसँग मिसिन्छिन् त्यो त अझै हेर्न बाँकी छ । तर, जता गए पनि उनलाई सहज भने छैन ।

रास्वपाका सभापति रवि लामिछाने जेलमा रहेको र पार्टी अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको बेला साथ छोडेकी उनलाई धेरैले अवसरवादी महिलाका रूपमा समेत चित्रण गर्दै आएका छन् ।
FACEBOOK COMMENTS