काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच ६ बुँदामा हस्ताक्षर गर्दै एकता भएको छ ।
बुधबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा आयोजित एकता घोषणा समारोहमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गरेर एकतालाई औपचारिकता दिएका हुन् । पार्टी एकतापछि पार्टीको नाम राप्रपा र चुनाव चिन्ह हलो नै रहनेछ ।
अध्यक्ष लिङदेन र थापाले गत बुधबार दुवै दल एकीकरण गर्ने सहमति गरेका थिए । चार बर्षअघि राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले आफ्नै नेतृत्वमा राप्रपा नेपाल गठन गरेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल बीच एकिकरण सम्बन्धि आधार पत्र
देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालका बीचमा एकीकरण गर्ने निर्णय गरेका छौं । पार्टी एकताको आधार देहाय बमोजिम हुनेछः

१. राष्ट्रिय प्रजातन्त्र पार्टीको २०७८ साल मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट पारित सम्बर्धनवादको वैचारिक दर्शन अन्तर्गत सबै धर्मका बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुअधिराज्य राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिको सिद्धान्त एकीकरण पश्चातको मार्ग दर्शन हुनेछ ।

२. राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट पारित बिधान पार्टीको बिधान हुनेछ । एकीकरण पश्चात् राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह ९हलो० र झण्डा नै कायम हुनेछ ।

३. राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेन पार्टीको केन्द्रीय अध्यक्ष हुनु हुनेछ ।

४. राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनबाट निर्वाचित भएका तर हाल राप्रपा नेपालमा रहेका केन्द्रिय कार्य समितिका सदस्यहरु एकिकृत पार्टीमा तात्कालिन महाधिवेशन हुंदा कायम रहेको पदमा रहने छन् । सहमतिको आधारमा एकिकृत पार्टीमा राप्रपा नेपालको तर्फबाट पदाधिकारी र सदस्यहरु केन्द्रीय कार्यसमितिमा रहने छन् ।

५. सहमतिको आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको २०७८ मंसीरमा सम्पन्न महाधिबेशन हुदाका बखत कायम रहेका वडा, गांउ, नगर र जिल्ला तहका पदाधिकारी सदस्यहरुलाइ ततः तत जिल्लामा सम्मानजनक ढंगबाट गर्दै लगिनेछ ।
६. राप्रपा नेपालका संयोजित संगठनका पदाधिकारी र सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्बन्धित भातृसंगठनहरुमा सम्मानजनक ढंगबाट समायोजन गरिने छ ।
FACEBOOK COMMENTS