काठमाडौं । जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि पुराना दलहरूजस्तै बन्न लामो समय नलाग्ने बताएकी छिन् ।
पुराना राजनीतिक दलहरूमाजस्तै रास्वपामा पनि कार्यकर्ताहरू अन्धभक्त भएर प्रस्तुत भइरहेको र त्यसले नेतालाई जवाफदेही बन्न अवरोध गर्ने चर्चा गर्दै सो कुरा बताएकी हुन् । अन्धभक्त कार्यकर्ताको घेरामा रहेका नेता जवाफदेही नसक्ने उनको भनाइ छ ।
देश अस्तव्यस्त हुँदा पनि आशा जगाएको रास्वपा पुरानै दलहरूको प्रवृत्तिमा पुग्ने हो कि भन्ने चिन्ता उनले व्यक्त गरेकी छिन् । ‘तपाईंहरू धन्यवादका पात्र हुनुहुन्छ । देश अस्तव्यस्त भएको बेला तपाईंहरूले आशा जोगाउनु भएकै हो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘तर, कृपया अन्धभक्त नबनिदिनुहोस् । नागरिकहरूले प्रश्न गर्दा र आलोचना गर्दा सुन्नुपर्छ । जवाफ दिनुपर्छ । होइन भने नयाँ रास्वपा पनि पुराना दलहरूजस्तै बन्न लामो समय लाग्ने छैन ।’
जेन–जी आन्दोलनका क्रममा आफूहरूले ‘व्यवस्था होइन, प्रवृत्ति बदल’ भनेर नारा लगाए पनि नयाँ भनिएको रास्वपाभित्र त्यही प्रवृत्ति हाबी हुँदै गएको उनको निष्कर्ष छ ।
‘जसरी हामीले हिजो सडकमा ‘व्यवस्था होइन, प्रवृत्ति बदल’ भनेर नारा लगाएका थियौं, आज त्यही प्रवृत्तिको नयाँ संस्करणलाई जयजयकार गर्दैछौँ भने हामी आफ्नै इतिहाससँग ठट्टा गर्दैछौँ,’ उनले अगाडि भनेकी छिन्, ‘हाम्रा लागि बालेन प्रधानमन्त्री बनून्, गगन बनून्, प्रचण्ड बनून् वा अरू जो कोही बनून्, यदि नागरिकले प्रश्न गरेनन् भने त्यो नेतृत्व तानाशाही बन्न समय लाग्ने छैन ।’

हेर्नुहोस् बमको पूरा भनाइ–

आदरणीय रास्वपाका साथीहरू,

तपाईंहरू धन्यवादका पात्र हुनुहुन्छ । देश अस्तव्यस्त भएको बेला तपाईंहरूले आशा जोगाउनु भएकै हो । तर कृपया अन्धभक्त नबनिदिनुहोस् । नागरिकहरूले प्रश्न गर्दा र आलोचना गर्दा सुन्नुपर्छ । जवाफ दिनुपर्छ । होइन भने नयाँ रास्वपा पनि पुराना दलहरूजस्तै बन्न लामो समय लाग्ने छैन ।

रास्वपाले बालेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदा हामी खुसी नै भएका छौं । झापा–५ बाट उहाँको उम्मेदवारीले हामीमा आशा जगाएको नै छ । पुराना दलहरूको दलतन्त्रबाट आजित भएर नयाँ आशा बोकेर आएका आवाजलाई समर्थन हामी पनि गर्छौं । तर कुनैपनि दल/नेतृत्व चाहे त्यो एमाले, काँग्रेस, नेकपा होस वा रास्वपासहित अन्य कुनै दल, प्रश्नभन्दा बाहिर कोही पनि छैनन् । हामी पनि प्रश्नको घेरामै छौं र जवाफदेही नै छौं ।

जसरी हामीले हिजो सडकमा ‘व्यवस्था होइन, प्रवृत्ति बदल’ भनेर नारा लगाएका थियौं, आज त्यही प्रवृत्तिको नयाँ संस्करणलाई जयजयकार गर्दैछौं भने हामी आफ्नै इतिहाससँग ठट्टा गर्दैछौं । हाम्रो लागि बालेन प्रधानमन्त्री बनून्, गगन बनून्, प्रचण्ड बनून् वा अरू जो कोही बनून्, यदि नागरिकले प्रश्न गरेनन् भने त्यो नेतृत्व तानाशाही बन्न समय लाग्ने छैन ।
हामीले नयाँ आशाहरूलाई जोगाउनकै लागि भए पनि प्रश्न जोगाउनुपर्छ । नागरिकले प्रश्न गर्नुपर्छ र नेतृत्वले उत्तर दिनुपर्छ । नभए फेरी तिनै तानाशाहीहरू नयाँ नामको अवतारमा, नयाँ झण्डा र नयाँ भाषण बोकेर फर्किनेछन् ।
त्यसैले अन्धभक्त नबनौं, सचेत नागरिक बनौं ।
FACEBOOK COMMENTS