काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जारी निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारहरूको तेस्रो सूची प्रकाशन गरिँदै छ ।
गत चैत १७ गतेदेखि सुरू भएको निर्वाचन प्रक्रियाअन्तर्गत चैत २२ गते उम्मेदवारहरूले आ–आफ्नो मनोनयनपत्र दाखिला गरेका थिए । सोही दिन साँझ निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक अर्थात् पहिलो सूची प्रकाशन गरेको थियो ।
त्यसपछि १८ वटा वस्तुगत संघहरूको सदस्यता विवादमा उच्च अदालत पाटनमा परेको रिटमाथिको फैसलाले रोकिएको निर्वाचन पक्रिया वैशाख १४ सोमबारदेखि पुन: सुचारु भइरहेको छ । जस अनुसार समितिले सक्कल कागजातहरूको आधारमा उम्मेदवारहरूको दोस्रो सूची प्रकाशन गरिसकेको छ ।
उक्त सूची अनुसार उम्मेदवारहरूको निवेदनका आधारमा दुई जना उम्मेदवारको कलष्टर परिवर्तन गरिएको र एक जना उम्मेदवारको नाम थप गरिएको थियो । जिल्ला/नगरतर्फ खुला सदस्य पदमा उम्मेदवारी दिएकी सुष्मा महरालाई सोही समूहको महिला कलष्टरमा र जितबहादुर कार्कीलाई कोशी प्रदेश कलष्टरमा सारिएको थियो ।
पूर्वनिर्धारित निर्वाचन प्रक्रियाका आधारमा आज उम्मेदवारहरूको मनोनयनपत्रविरुद्ध परेको दाबी विरोध र त्यसमाथिको छानविनपश्चात तेस्रो सूची प्रकाशन गर्न लागिएको निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए । उनका अनुसार यो सूची आज साँझ ५ बजे सार्वजनिक गरिँदै छ ।

तेस्रो सूची प्रकाशनपछि आफ्नो उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारहरूका लागि वैशाख १८ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको समय छुट्टयाइएको छ । सोही दिन साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने कार्यसूची रहेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

महासंघको ६०औँ साधारण सभा तथा निर्वाचन आगामी २१ र २२ गते हुँदैछ । महासंघका अनुसार साधारण सभा उद्घाटन ललितपुरको ग्वार्कोस्थित होटेल टुलिपमा र निर्वाचन कार्यक्रम काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन हुने भएको छ ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकाल र भावी अध्यक्ष तथा वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले छुट्टा–छुट्टै समूह निर्माण गरी प्रतिस्पर्धामा उतारेका छन् ।