काठमाडौं । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित राम्चेमा सञ्चालित ढुंगा खानीमा ठुलो ढुंगा खसेर टिपरलाई किच्दा चालकको मृत्यु भएको छ । सोही गाउँपालिका घर भएका ३२ वर्षीय दीपेन्द्र खत्रीको मृत्यु भएको धादिङका एसपी सुमित खड्काले रातोपाटीलाई बताए ।
काठमाडौँ महानगरपालिका वडा नम्बर–५ बस्ने हर्कबहादुर तामाङले सञ्चालन गरेको बज्रकाली रोडा ढुंगा उद्योगमा ढुंगा लोड गर्न भनेर दीपेन्द्र बा.५ख ८५८० नम्बरको टिपर लिएर त्यहाँ पुगेका थिए ।
खानी क्षेत्रमा प्रवेश गरेपछि अचानक माथिबाट आएर ठुलो ढुंगाले टिपर सहित चालकलाई किचेको थियो । स्थानीयले खानी सञ्चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै दीपेन्द्रको शव घटनास्थलबाट निकाल्न दिएका छैनन् ।