काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) का अध्यक्ष दिनेश श्रेष्ठले देशको आर्थिक तथा प्रशासनिक प्रणालीलाई सुदृढ बनाउन निजी क्षेत्रको भूमिका निर्णायक रहेको बताएका छन् ।
आज शनिबार काठमाडौंमा आयोजित संघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले संघीय, प्रदेश र स्थानीय तहका सरकारसँग सहकार्य गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउन निरन्तर योगदान दिँदै आएको बताए ।
उनले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको धारणा राख्दै वर्तमान परिस्थितिमा निजी क्षेत्रमैत्री नीति तथा व्यावहारिक बजेटको आवश्यकता झन् बढेको बताए ।
अध्यक्ष श्रेष्ठले काठमाडौं प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ नेतृत्वको शैलीप्रति नागरिकको भरोसा बढिरहेको उल्लेख गर्दै देशले पनि युवामुखी सोच र परिणाममुखी कार्यशैलीको अपेक्षा गरेको बताए । उनले आगामी बजेट जनअपेक्षा अनुरूप युवा केन्द्रित, उत्पादनमुखी र आर्थिक गतिविधि बढाउने खालको हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
त्यस्तै, उनले अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रमैत्री तथा लगानी प्रोत्साहन गर्ने खालको प्रभावकारी बजेट ल्याउने विश्वास व्यक्त गरे । उनका अनुसार अर्थतन्त्र सुधारका लागि उद्योग, व्यापार, पर्यटन र रोजगारी सिर्जनामा प्रत्यक्ष प्रभाव पार्ने नीति आवश्यक छ ।

अध्यक्ष श्रेष्ठले कानुनसम्मत रूपमा व्यवसाय सञ्चालन गर्ने उद्यमी तथा व्यवसायीलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै सकारात्मक काम गर्नेहरूलाई संरक्षण र सहजीकरण गर्नुपर्ने तथा गलत गतिविधिमा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको भ्रष्टाचार नियन्त्रणको अभियान तथा सरकारको ‘सय दिनमा सय बुँदा’ कार्यक्रमलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको पनि बताए । सुशासन, पारदर्शिता र प्रशासनिक सुधारले मात्रै लगानीमैत्री वातावरण बन्न सक्ने उनको धारणा थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी, निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।