काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व वरिष्ठ उपाध्यक्ष भाष्कर राज राजकर्णिकारले बलियो सरकार बनेपछि पनि निजी क्षेत्रको मनोबल अपेक्षाअनुसार माथि उठ्न नसकेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) को पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार गठन भएको दुई महिना बितिसक्दा समेत निजी क्षेत्र अझै अन्योल र सशंकित अवस्थामा रहनु गम्भीर विषय भएको बताएका हुन् । ‘निजी क्षेत्र किन आत्मविश्वासी हुन सकेन ? किन अझै डर र अन्योलमा छ ? भन्ने प्रश्न अब शासकहरूसँगै सोधिनुपर्छ,’ उनले भने ।
उनले आगामी जेठ १५ गते आउने बजेटप्रति आशा व्यक्त गर्दै निजी क्षेत्रका माग र अपेक्षाहरू सम्बोधन हुने विश्वास व्यक्त गरे । तर, सरकार गठन भएको छोटो समयमै निजी क्षेत्रमाथि धरपकड र दबाबको वातावरण सिर्जना हुनु दु:खद भएको उनको टिप्पणी थियो ।
उनले भाषण र पुरातन शैलीका आश्वासनले मात्रै अर्थतन्त्र चल्न नसक्ने स्पष्ट पारे । निजी क्षेत्रलाई विश्वासमा लिएर व्यावहारिक, लगानीमैत्री र कार्यान्वयनमुखी नीति ल्याउनुपर्नेमा उनले जोड दिए । निजी क्षेत्रलाई सहकार्यको साझेदारका रूपमा नहेरी शङ्काको दृष्टिले हेर्ने प्रवृत्तिले अर्थतन्त्रमा सकारात्मक सन्देश जान नसक्ने उनको भनाइ थियो ।