काठमाडौं । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठले व्यवसाय व्यवस्थापनका नाममा स्थानीय, प्रदेश र संघीय सरकारले लिँदै आएको कर प्रणालीमा पुनर्विचार गर्नुपर्नेमा जोड दिएकी छन् ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको पाँचौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनलाई शनिबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले हालको कर प्रणाली र कर तिर्ने प्रक्रिया उद्योगी–व्यवसायीका लागि अझै पनि झन्झटिलो रहेको औँल्याइन् । उनले यस प्रक्रियालाई तत्काल सरल, सहज र प्रविधिमैत्री (डिजिटल) बनाउनुपर्ने आवश्यकता व्यक्त गरिन् ।
“तिनै तहका सरकार र निजी क्षेत्रबीच बलियो समन्वय र निरन्तरको संवादबाट मात्रै उद्योगी व्यवसायीका विद्यमान समस्याहरू समाधान गर्न सकिन्छ,“ मन्त्री श्रेष्ठले भनिन् ।
मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले उद्योग र प्रशासनको क्षेत्रमा केही सुधारका कार्यहरू सुरु गरिसकेको जानकारी दिँदै आगामी दिनमा ती कार्यक्रमहरूलाई थप प्रभावकारी र परिणाममुखी ढंगले लागू गर्ने प्रतिबद्धता समेत जनाइन् ।