तातो लहरको त्रास: १४ जिल्लामा सतर्क रहन आग्रह
कर्पोरट खबर
10:14 pm, बिहीबार, जेठ २१, २०८३
- जल तथा मौसम विज्ञान विभागले तराईका १४ जिल्लामा तातो लहरको सतर्कता र ७ जिल्लामा अध्यावधिक रहन विशेष बुलेटिन जारी गरेको छ।
- आगामी तीन दिन कोशी, मधेस, लुम्बिनी लगायत प्रदेशका तराई क्षेत्रमा अधिकतम तापक्रम ३८ डिग्रीभन्दा माथि रहने सम्भावना छ।
काठमाडौ । जल तथा मौसम विज्ञान विभागले तातो दिन वा तातो लहरसम्बन्धी आज विशेष बुलेटिन जारी गर्दै तराईका केही जिल्लामा सावधानी अपनाउन अनुरोध गरेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले आज तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभिन्न १४ जिल्लामा सतर्क रहन र अन्य सात जिल्लामा अध्यावधिक रहन अनुरोध गरेको हो ।
जारी विशेष बुलेटिनमा आगामी तीन दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका केही ठाउँमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा योभन्दा बढी रहने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँका अनुसार आज भैरहवामा भने ४१ डिग्री तापक्रम मापन भएको छ भने नेपालगञ्जमा ४० डिग्री छ ।
मधेस र लुम्बिनी प्रदेशका तराई भू(भागका थोरै ठाउँमा आगामी तीन दिनसम्म मध्यम तातो लहर हुने पनि महाशाखाले जनाएको छ । “कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका केही ठाउँमा तातो दिन हुने सम्भावना छ । त्यसैले गर्मीबाट जोगिने उपाय अपनाउनु होला”, विभागको सूचनामा उल्लेख छ । महाशाखाले गर्मी अत्यधिक बढिरहेकाले विशेष ख्याल गर्न सबैमा अनुरोध गरेको छ ।
विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी बर्दघाट(सुस्तापश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्नसक्ने भएकाले सतर्क रहने अनुरोध गरेको छ ।
त्यस्तै कञ्चनपुर, कैलाली, नवलपरासी बर्दघाट(सुस्तापूर्व, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई सूचना अध्ययावधि सूचना हेर्न अनुरोध गरिएको मौसमविद् पुडासैनीले बताए ।