काठमाडौं । बीमा क्षेत्रमा देखिएको कानुनी विवादका कारण आधा दर्जनभन्दा बढी बीमा तथा पुनर्बीमा कम्पनी अहिले नेतृत्वविहीन बनेका छन्।
धितोपत्र तथा बीमा सम्बन्धी कसुरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक विरुद्ध फौजदारी मुद्दा दर्ता भएपछि उनीहरू निलम्बनमा परेका हुन्। त्यससँगै सम्बन्धित कम्पनीको दैनिक सञ्चालन र व्यवस्थापनमा समस्या देखिन थालेको छ।
नेपाल बीमा प्राधिकरणले नेतृत्वविहीन बनेका कम्पनीलाई तत्काल नयाँ नेतृत्व चयन गर्न निर्देशन दिएको छ। स्थायी प्रमुख कार्यकारी अधिकृत नियुक्त हुन समय लागे कम्तीमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर नियमित कामकाज अघि बढाउन पनि प्राधिकरणले भनेको छ।
तर अधिकांश कम्पनीले अहिलेसम्म आवश्यक प्रक्रिया अघि बढाउन सकेका छैनन्।
नेतृत्व अभावका कारण महत्त्वपूर्ण निर्णय रोकिएको, प्रशासनिक काम प्रभावित भएको र सेवा प्रवाहमा समेत समस्या देखिएको भन्दै सम्बन्धित कम्पनीका कर्मचारीले प्राधिकरणमा गुनासो गरेका छन्। त्यसपछि प्राधिकरणले कामकाज सहज बनाउन चाँडै नयाँ नेतृत्व चयन गर्न पुनः निर्देशन दिएको हो।

प्राधिकरणका एक उच्च अधिकारीका अनुसार फौजदारी मुद्दाका कारण नेतृत्वविहीन बनेका सबै कम्पनीलाई बढीमा तीन महिनाभित्र नयाँ नेतृत्व चयन गर्न भनिएको छ। तोकिएको समयभित्र पनि कम्पनीले निर्देशन पालना नगरे कानुनअनुसार कारबाही गरिने चेतावनी प्राधिकरणले दिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत जेठ २८ गते धितोपत्र तथा बीमा कसुरसम्बन्धी मुद्दामा बीमा क्षेत्रका केही उच्च पदाधिकारीविरुद्ध फौजदारी मुद्दा दर्ता गरेको थियो।
त्यसयता कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा केही सञ्चालक निलम्बनमा परेपछि सातवटा बीमा तथा पुनर्बीमा कम्पनी नेतृत्वविहीन बनेका छन्।
हाल नेपाल पुनर्बीमा कम्पनी, हिमालयन पुनर्बीमा कम्पनी, लिबर्टी लघु जीवन बीमा, क्रेस्ट लघु बीमा, प्रोटेक्टिभ लघु बीमा, गार्डियन लघु जीवन बीमा र नेपाल लघु बीमामा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त रहेको छ।
लामो समयसम्म नेतृत्व अभाव रहे यसले कम्पनीको सुशासन, सेवा प्रवाह र बीमा क्षेत्रप्रतिको जनविश्वासमा समेत नकारात्मक असर पर्ने सरोकारवालाको चिन्ता छ।