काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न तहका स्थायी पदमा कर्मचारी भर्नाका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन माग गरेको छ।
बैंकले शुक्रबार सूचना प्रकाशित गर्दै प्रशासन, कानुन, सूचना प्रविधि, लेखा, कृषि तथा इन्जिनियरिङलगायत विभिन्न सेवाका पदमा योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
बैंकका अनुसार वरिष्ठ प्रबन्धक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धकलगायतका पदमा कर्मचारी नियुक्त गरिनेछ। त्यस्तै सातै प्रदेशका कार्यालयका लागि वरिष्ठ सहायक तहमा प्रशासन, कानुन, नगद व्यवस्थापन तथा सूचना प्रविधि समूहमा पनि उल्लेख्य सङ्ख्यामा पदपूर्ति गरिने भएको छ।
यी पदमा आवेदन दिन सम्बन्धित विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। पदअनुसार आवश्यक शैक्षिक योग्यता र अनुभव बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ।
अधिकृत तहका पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक तहका पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्गता भएका उम्मेदवारका हकमा भने माथिल्लो उमेर सीमा ४० वर्ष कायम गरिएको छ। बैंकमा कार्यरत कर्मचारीका लागि उमेरको सीमा लागू नहुने व्यवस्था पनि गरिएको छ।

इच्छुक उम्मेदवारले बैंकको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिले २१ दिन अर्थात् आगामी साउन ८ गतेसम्म तोकिएको छ। त्यसपछि थप सात दिनसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ।
लिखित परीक्षा, आवश्यकताअनुसार प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा उम्मेदवार छनोट गरिनेछ। परीक्षाको मिति र परीक्षा केन्द्र पछि सार्वजनिक गरिने बैंकले जनाएको छ। विस्तृत पाठ्यक्रम तथा अन्य जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख गरिएको छ।