काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार उत्साहजनक सुधार देखिएको छ।
कारोबार अवधिभर उतारचढावका बीच बजार सकारात्मक रहँदा नेप्से परिसूचक २४.५७ अंक (०.९३ प्रतिशत) ले बढेर २,६५१.६८ विन्दुमा बन्द भएको छ।
मंगलबार कारोबार सुरु भएदेखि नै बजारमा सकारात्मक माहोल बनेको थियो। पहिलो एक घण्टापछि परिसूचक केही समयका लागि सामान्य घटेर नकारात्मक क्षेत्रमा पुगे पनि त्यसपछि सुधार हुँदै दिनभर उकालो लाग्ने क्रम जारी रह्यो।
लगानीकर्ताको मनोबल उच्च देखिँदा बजारमा कुल २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
बजारमा सात अर्ब माथिको कुल कारोबार हुँदा यस दिन ७२ हजार २२ वटा कारोबारमार्फत ९५ लाख १० हजार कित्ता सेयर खरिदबिक्री भए। यसबाट कुल ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार व्यक्तिगत कम्पनीतर्फ कालंगा हाइड्रो लिमिटेडको सेयर मूल्यमा सबैभन्दा बढी १४.९९ प्रतिशतको वृद्धि देखियो। यस्तै, आरबीबी फोकस ४० को १३.८५ प्रतिशत र सानीगाड हाइड्रो लिमिटेडको सेयर मूल्य १०.५७ प्रतिशतले उकालो लागेको छ।
यता, सबैभन्दा धेरै गुमाउने कम्पनीमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रह्यो, जसको सेयर मूल्य १३.७८ प्रतिशतले ओरालो लागेको छ। त्यसैगरी १० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९० को मूल्य ७।९९ प्रतिशत र स्नो रिभर्स लिमिटेडको ५.१३ प्रतिशतले घटेको छ।
मंगलबार बजारका सबै १३ वटा उपसमूहका परिसूचकहरू हरियाली (सकारात्मक) बनेर बन्द भएका छन्। जसमध्ये सबैभन्दा बढी ट्रेडिङ उपसमूह १.८९ प्रतिशतले बढेको छ भने बैंकिङ उपसमूह १.५२ प्रतिशत र विकास बैंक उपसमूह १.१३ प्रतिशतले वृद्धि भएको छ ।