काठमाडौं । नेपाली अटोमोबाइल बजारमा टोयोटा केवल एउटा गाडीको ब्रान्ड मात्र होइन, यसले टिकाउपन, विश्वसनीयता र सामाजिक प्रतिष्ठाको पर्यायवाचीका रूपमा आफूलाई सावित गर्न सफल भएको छ ।
विशेष गरी पहाडी बाटो र प्रिमियम गाडी चढ्न चाहने वर्गका लागि टोयोटा दशकौँदेखि पहिलो रोजाइमा पर्दै आएको छ ।
नेपालका लागि टोयोटा गाडीको एकमात्र आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि हो । युनाइटेड ट्रेडर्स नेपालको प्रतिष्ठित व्यावसायिक घराना वैद्यज अर्गनाइजेसन अन्तर्गतको संस्था हो।
युनाइटेड ट्रेडर्स सिन्डिकेटको स्थापना स्वर्गीय डा. विजय गजानन्द वैद्यले सन् १९६७ अर्थात् वि.सं. २०२४ मा गरेका थिए । सन् २०२६ सम्म आइपुग्दा टोयोटाले नेपाली बजारमा गौरवमय ५९ वर्षको लामो यात्रा पूरा गरिसकेको छ।
स्थापना कालमा संस्थापक डा. वैद्यले नेपालमा वार्षिक ६ वटा गाडी बेच्ने लक्ष्य राखेका थिए । तर सन् १९७० को अन्त्यसम्म तिन सय ५३ वटा गाडी बिक्री गरेर नेपाली अटोमोबाइल क्षेत्रमा इतिहास रच्न सफल भए । हाल युएसटीको नेतृत्व सुरज वैद्य र रितु सिंह वैद्यले सम्हालीरहेका छन् ।
हाल नेपालमा टोयोटा राइज, यारिस क्रस हाइब्रिड, कोरोला क्रस हाइब्रिड, राभ–४ हाइब्रिड, फर्चुनर, टोयोटा हाइलक्स, ल्यान्ड क्रुजर २५० र प्राडो, हाइस जस्ता मोडलहरू उपलब्ध रहेका छन् ।
टोयोटा राइज
नेपालमा टोयोटा चढ्ने सपना बोकेका ग्राहकका लागि ‘टोयोटा राइज’ सबैभन्दा धेरै रुचाइएको, बजेट मैत्री र लोकप्रिय कम्प्याक्ट एसयूभी हो। सहरी यात्राका लागि यो निकै परफेक्ट मानिन्छ ।
टोयोटा राइजमा १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल र १.० लिटर टर्बो पेट्रोल गरी दुई इन्जिन विकल्प उपलब्ध छन्।
१.२ लिटर इन्जिनले ८७ हर्सपावर र ११३ एनएम टर्क उत्पादन गर्छ भने १.० लिटर टर्बो इन्जिनले ९६ हर्सपावर र १४० एनएम टर्क प्रदान गर्छ।
यसमा ३६ लिटर क्षमताको इन्धन ट्याङ्की, ८ वटा आकर्षक रङको विकल्प, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र स्पोर्टी डिजाइन तपाइले पाउनुहुनेछ ।
टोयोटा राइजमा सुरक्षाका लागि डुअल एयरब्याग, एबीएस, हिल स्टार्ट असिस्ट र रिभर्स क्यामेरा जस्ता महत्त्वपूर्ण सुरक्षा सुविधाले यस गाडीलाई थप आकर्षक बनाएको छ । भेरियन्ट अनुसार तपाइले ६८ लाख ५० हजार देखि ८६ लाख सम्ममा पाउनुहुनेछ ।
यारिस क्रस हाइब्रिड
पर्यावरणमैत्री र इन्धनको अत्यधिक बचत खोज्नेहरूका लागि यारिस क्रस हाइब्रिड (बिजुली र पेट्रोल दुवैबाट चल्ने) क्रसओभर उत्कृष्ट विकल्प हो।
आकर्षक डिजाइनसहित आएको यस एसयूभीमा १.५ लिटर हाइब्रिड इन्जिन, ई–सीभीटी गियरबक्स र प्रतिलिटर करिब २६ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ।
१०.१ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट, ७ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, प्यानोरामिक सनरुफ, वायरलेस चार्जर, पावर ड्राइभर सिट, पावर टेलगेट, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मोनिटर, रियर क्रस ट्राफिक अलर्ट, टीपीएमएस र फ्रन्ट–रियर पार्किङ सेन्सर जस्ता आधुनिक सुविधाहरू छन्।
नेपालमा यसको सुरुवाती मूल्य करिब ७४ लाख ९० हजार रुपैयाँ रहेको छ भने यारिस क्रस हाइब्रिड ईभीको मूल्य १ करोड २९ लाखबाट सुरु हुन्छ ।
कोरोला क्रस हाइब्रिड
कोरोला क्रस हाइब्रिड नेपाली बजारमा अत्यधिक रुचाइएको मिड–साइज हाइब्रिड क्रसओभर हो । जसले आरामदायी यात्रा र स्टाइलको छुट्टै आनन्द प्रदान गर्छ ।
यो प्रिमियम हाइब्रिड एसयूभीका रूपमा उपलब्ध छ। यसमा १.८ लिटर हाइब्रिड पेट्रोल इन्जिन र ई–सीभीटी अटोमेटिक गियरबक्स रहेको छ । जसले उत्कृष्ट इन्धन बचत र सहज ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
१०.१ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ७ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, प्यानोरामिक सनरुफ, वायरलेस चार्जर, डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामेरा, टोयोटा सेफ्टी सेन्स एडीएएस, ७ वटा एयरब्याग, ब्लाइन्ड स्पट मोनिटर, लेन डिपार्चर अलर्ट र एडाप्टिभ क्रुज कन्ट्रोल जस्ता आधुनिक सुरक्षा तथा सुविधाहरू उपलब्ध छन्।
१७९८ सीसीको हाइब्रिड इलेक्ट्रिक इन्जिन भएको यसको मूल्य भेरियन्टअनुसार करिब ७८ लाख रुपैयाँदेखि ८८ लाख रुपैयाँसम्म पर्छ भने इभीको मूल्य १ करोड ८१ लाखबाट सुरु हुन्छ ।
राभ–४ हाइब्रिड
विश्वमै सबैभन्दा धेरै बिक्री हुने एसयूभीमध्येको एक राभ–४ नेपालमा पनि प्रिमियम सेग्मेन्टमा निकै रुचाइएको छ।
यसमा २ हजार ४ सय ८७ सीसीको शक्तिशाली हाइब्रिड पेट्रोल इन्जिन रहेको छ । जसले १७६ बीएचपी र २२१ एनएम टर्क प्रदान गर्छ ।
५५ लिटरको इन्धन क्षमता, ७–इन्चको मल्टि–इन्फर्मेसन डिस्प्ले, सनरुफ र वायरलेस चार्जिङ पनि यसमा तपाइले पाउनुहुनेछ ।
तसर्थ स्पोर्ट, इको, नर्मल, ईभी र ट्रेल जस्ता विभिन्न ड्राइभ मोडहरू रहेका छन् भने सुरक्षाका लागि ७ वटा एयरब्याग, भेहिकल स्टेबिलिटी कन्ट्रोल र हिल–स्टार्ट असिस्ट उपलब्ध छन्।
नेपालमा भेरियन्ट अनुसार यसको मूल्य १ करोड ६७ लाख देखि १ करोड ९० लाख सम्म पर्छ भने इभीको मूल्य २ करोड ७ लाख देखि २ करोड १३ लाख सम्म पर्छ ।
फर्चुनर
नेपाली बजारमा उपलब्ध टोयोटा फर्चुनर प्रिमियम ७ सिटर एसयूभी हो।
यसमा २.८ लिटर, ४–सिलिन्डर डिजेल इन्जिन, ६–स्पिड म्यानुअल वा अटोमेटिक गियरबक्स र ४डब्लुडी ड्राइभ सिस्टम उपलब्ध छ।
यसमा तपाइले ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले र एन्ड्रोइड अटो, एलईडी हेडल्याम्प, १८ इन्च अलोय ह्विल, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ७ वटा एयरब्याग, भेहिकल स्टेबिलिटी कन्ट्रोल, हिल असिस्ट, डाउनहिल असिस्ट कन्ट्रोल, रिभर्स क्यामेरा र पार्किङ सेन्सर जस्ता आधुनिक सुविधाहरू पाउनुहुनेछ ।
नेपालमा फर्चुनरको म्यानुअल भेरियन्टको मूल्य २ करोड ७० लाख रुपैयाँ र अटोमेटिक भेरियन्टको मूल्य २ करोड ८३ लाख रुपैयाँबाट सुरु हुन्छ।
त्यसैगरी तपाइले टोयोटा हाइलक्स, ल्यान्ड क्रुजर २५० र प्राडो, हाइस जस्ता मोडलहरू पनि पाउन सक्नुहुन्छ ।
टोयोटा जापानी गाडी हो । टोयोटा मोटर कर्पोरेशन जापानको आइचीस्थित टोयोटा सिटीमा मुख्यालय रहेको जापानी बहुराष्ट्रिय अटोमोटिभ निर्माता हो।
जुन कम्पनी अगस्ट २८, १९३७ मा किचिरो टोयोडाद्वारा स्थापित भएको थियो। टोयोटा विश्वको सबैभन्दा ठूलो अटोमोबाइल निर्माता हो, जसले प्रति वर्ष लगभग १ करोड सवारी साधन उत्पादन गर्ने दाबी गर्दछ ।