काठमाडौं। दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक टर्म शीटमा हस्ताक्षर भएको छ।
दुवै कम्पनीका अनुसार यस सहकार्यले नेपालमा स्वच्छ, भरपर्दो र दिगो ऊर्जा पूर्वाधार विकासका साथै विद्युतीय सवारीसाधन (ईभी) चार्जिङ प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
साझेदारीअन्तर्गत सोलार ऊर्जा उत्पादनलाई अत्याधुनिक ब्याट्री ऊर्जा स्टोरेज प्रविधिसँग एकीकृत गरिनेछ। यसबाट ईभी चार्जिङ पूर्वाधारको क्षमता अभिवृद्धि हुनुका साथै उच्च विद्युत् माग हुने समयमा राष्ट्रिय विद्युत् ग्रिडमाथिको निर्भरता कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रस्तावित प्रणालीले दिनभर सोलारबाट उत्पादन भएको अतिरिक्त विद्युत् सञ्चय गरी आवश्यक परेको समयमा ईभी चार्जिङका लागि प्रयोग गर्नेछ। यसले ऊर्जा आपूर्तिको विश्वसनीयता बढाउनुका साथै नवीकरणीय ऊर्जाको प्रभावकारी उपयोग र चार्जिङ सेवाको निरन्तरतामा योगदान पुर्याउने अपेक्षा कम्पनीको छ।
दिगोका व्यवसाय प्रमुख (एकीकृत ऊर्जा समाधान) नवीन अधिकारीले घाम पावरसँगको सहकार्य नेपालमा दिगो विद्युतीय सवारीसाधन इकोसिस्टम निर्माणतर्फ अर्को महत्वपूर्ण उपलब्धि भएको बताए।
उनले चार्जिङ स्टेशनमा सौर्य ऊर्जा र ब्याट्री स्टोरेज प्रणालीको एकीकरणमार्फत विद्युतीय यातायातलाई अझ स्मार्ट, स्वच्छ र भरपर्दो बनाउने पूर्वाधार निर्माण भइरहेको उल्लेख गरे।
घाम पावरका प्राविधिक निर्देशक प्रदीप हुमागाईंले सौर्य ऊर्जा र ब्याट्री स्टोरेज प्रणालीको संयोजनले ऊर्जा दक्षता बढाउनुका साथै स्वच्छ प्रविधिमार्फत नेपालमा ईभी चार्जिङ पूर्वाधारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कम्पनीहरूका अनुसार यो परियोजना भविष्यमा नेपालभर विस्तार हुने स्वच्छ ऊर्जामा आधारित ईभी चार्जिङ केन्द्रहरूको नमुना परियोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
स्थानीय रूपमा उत्पादन भएको सौर्य ऊर्जा र स्मार्ट ऊर्जा भण्डारण प्रणालीको प्रयोगले कार्बन उत्सर्जन घटाउने, विद्युत् प्रणालीको स्थायित्व बढाउने, सञ्चालन खर्च कम गर्ने तथा ईभी प्रयोगकर्तालाई अविरल चार्जिङ सेवा उपलब्ध गराउन सहयोग पुग्ने जनाइएको छ।
दिगोले विद्युतीय सवारीसाधन, चार्जिङ पूर्वाधार तथा दिगो यातायात समाधानमार्फत नेपालमा ईभी इकोसिस्टम विस्तार गर्दै आएको छ। त्यस्तै, घाम पावरले सोलार ऊर्जा समाधानमार्फत देशभर स्वच्छ ऊर्जा प्रवद्र्धनमा योगदान दिँदै आएको छ।
दुवै संस्थाले ऊर्जा र विद्युतीय यातायातलाई एकीकृत गर्दै नेपाललाई स्वच्छ, स्मार्ट र दिगो ऊर्जा भविष्यतर्फ अग्रसर गराउने तथा ‘नेट जिरो उत्सर्जन’ लक्ष्यमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।