काठमाडौं । आइतबार राति करिब दुई बजेको थियो। बाहिर मुसलधारे वर्षा भइरहेको थियो।
तर नेपालभरका घर, होटल, रेस्टुरेन्ट र चिया पसलमा भने एउटै उत्साह थियो– फिफा विश्वकप २०२६ को फाइनल।
अर्जेन्टिना र स्पेनबीचको उपाधि भिडन्त हेर्न लाखौं नेपाली टेलिभिजन र मोबाइलको स्क्रिनमा आँखा गाडेर बसेका थिए। खेल रोमाञ्चक बन्दै गएको थियो। समर्थकहरू गोलको प्रतीक्षामा थिए।
तर, त्यही बेला अचानक देशका धेरै ठाउँमा बत्ती झ्याप्प गयो।
एकैछिनमा टेलिभिजन बन्द भए, मोबाइल इन्टरनेट पनि प्रभावित भयो। खेलको सबैभन्दा महत्वपूर्ण क्षणमा बिजुली काटिएपछि फुटबलप्रेमीहरू आक्रोशित बने। केही मिनेटमै सामाजिक सञ्जाल सरकार र नेपाल विद्युत् प्राधिकरणको आलोचनाले भरियो। कसैले ऊर्जामन्त्रीको राजीनामा मागे भने कसैले फेरि लोडसेडिङ फर्किएको आरोप लगाए।
केही समयपछि बिजुली आयो। दर्शकहरूले राहतको सास फेरे। तर त्यो खुसी पनि धेरै बेर टिकेन। फेरि बत्ती जाँदा सामाजिक सञ्जालमा असन्तुष्टि झन् बढ्यो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार यो समस्या कुनै योजनाबद्ध लोडसेडिङ नभई प्राकृतिक कारणले भएको थियो।
प्राधिकरणका अनुसार राति करिब १ बजेर ५४ मिनेटतिर पथलैया–ढल्केवर १३२ केभी प्रसारण लाइनअन्तर्गत पथलैया निकुञ्ज क्षेत्रमा ठूलो रुख ढलेर प्रसारण लाइनमा क्षति पुगेको थियो। लगातारको वर्षा र खराब मौसमका कारण आएको यो अवरोधले काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार विश्वकप फाइनललाई ध्यानमा राखेर प्राविधिक टोली तयारी अवस्थामा राखिएको थियो। घटना लगत्तै मर्मत टोली परिचालन गरी वैकल्पिक लाइनबाट विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास गरिएको थियो। यद्यपि केही मिनेटको अवरोधले लाखौं दर्शक निराश बने।
प्राधिकरणले यस घटनाप्रति खेलप्रेमी र उपभोक्तासँग क्षमासमेत मागेको छ।

पछिल्लो केही महिनादेखि काठमाडौं उपत्यकादेखि तराईसम्म दिनमै धेरै पटक बत्ती जाने समस्या बढेको छ। लोडसेडिङ अन्त्य भएको वर्षौं भइसके पनि अहिलेको ट्रिपिङ समस्याले धेरैलाई पुरानै लोडसेडिङको झल्को दिलाइरहेको छ।
विशेषगरी गर्मी बढेसँगै तराई र मधेशका जिल्लामा सिँचाइका लागि मोटर र पम्पको प्रयोग अत्यधिक बढ्दा ट्रान्सफर्मरमा बढी भार पर्ने गरेको छ। कतिपय स्थानमा एउटा फेजमा मात्रै धेरै लोड पर्दा लाइन ट्रिप हुने गरेको प्राधिकरणले जनाएको छ।
यसबाहेक ग्रामीण क्षेत्रमा लामो ११ केभी वितरण लाइन, पुराना काठका पोल, साना क्षमताका तार र कमजोर पूर्वाधार पनि समस्या बनेका छन्। प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु श्रेष्ठका अनुसार अहिले देशमा विद्युत् उत्पादनको अभाव छैन। समस्या मुख्यतः वितरण प्रणालीको क्षमतामा रहेको छ।
उनका अनुसार बाढी, पहिरो, रुख ढल्ने तथा खराब मौसमका कारण प्रसारण लाइनमा क्षति पुग्दा पनि बारम्बार ट्रिपिङ हुने गरेको छ।
पछिल्लो समय लगातार बत्ती जाने घटनापछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठमाथि पनि दबाब बढेको छ। मन्त्री श्रेष्ठले प्राधिकरणलाई सेवा सुधार गर्न निर्देशन दिँदै आएका छन्। ट्रिपिङ समस्याको दीर्घकालीन समाधानका लागि कार्यदलसमेत गठन गरिएको छ।
उनले गुणस्तरीय र भरपर्दो विद्युत् सेवा दिनु सरकारको पहिलो दायित्व भएको दोहोर्याउँदै आए पनि उपभोक्ताले भने अझै सहज सेवा पाउन सकेका छैनन्।
यस्तो समस्या बढ्दै जाँदा सामाजिक सञ्जालमा कतिपयले उर्जा मन्त्रीलाई राजीनामा दिन समेत सुझाव दिएका छन ।

नेपाल विद्युत् प्राधिकरणले भने ट्रिपिङ उल्लेख्य रूपमा घटेको दाबी गरेको छ। प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७१ पटक प्रणाली ट्रिप भएको थियो। त्यसबेला कुल ८ घण्टा ११ मिनेट विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।
तर आर्थिक वर्ष २०८२/८३ को असार १४ गतेसम्म आइपुग्दा ट्रिपिङ ४२ पटकमा झरेको छ। अवरोध हुने समय पनि घटेर ५ घण्टा ५ मिनेटमा सीमित भएको प्राधिकरणको तथ्यांक छ। अर्थात् कागजमा ट्रिपिङ करिब ४० प्रतिशतले घटेको देखिन्छ।
तर उपभोक्ताको अनुभव भने फरक छ। काठमाडौं, तराई र अन्य सहरी क्षेत्रमा अहिले पनि दिनमै पटक–पटक बत्ती जाने समस्या यथावत् रहेको गुनासो छ।

प्राधिकरणका अनुसार अहिले देशभर नयाँ सबस्टेसन, उच्च क्षमताका ट्रान्सफर्मर र नयाँ प्रसारण लाइन निर्माणको काम भइरहेको छ। यी परियोजना सम्पन्न भएपछि वितरण प्रणाली बलियो हुने र झ्याप्प–झ्याप्प बत्ती जाने समस्या धेरै हदसम्म समाधान हुने विश्वास प्राधिकरणको छ।
तर विश्वकप फाइनलजस्तो महत्वपूर्ण क्षणमै बत्ती जाँदा आम नागरिकले एउटा प्रश्न भने उठाइरहेका छन्— उत्पादन बढेको भनिए पनि भरपर्दो विद्युत् सेवा कहिले पाइन्छ ?
नेपालले लोडसेडिङ अन्त्य गरेको वर्षौं बितिसक्यो। अब नागरिकको अपेक्षा बिजुली आउने मात्र होइन, बिना अवरोध गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पाउने हो। अहिलेको सबैभन्दा ठूलो चुनौती पनि यही बनेको छ।