काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ यहि साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आयोगको दुई आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ साउन १२ गते र प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनुवाइ साउन १३ गते गर्ने निर्णय गरिएको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।
बैठकमा सभापति श्रेष्ठले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको जानकारी दिए। प्राप्त उजुरी र सुझाव समिति सदस्यहरूलाई उपलब्ध गराइने र अध्ययनपश्चात साउन १२ र १३ गते सुनुवाइ हुने उनले बताए।
संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की र आयुक्त पदमा डा.राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।