काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको साउन ६ गते बसेको सञ्चालक समितिको १३१औँ बैठकले स्वतन्त्र सञ्चालकको नियुक्तिसहित निर्णय गरेको छ।
बैठकले स्वतन्त्र सञ्चालक डा. छत्र बहादुर बस्नेतले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा ई. विष्णु प्रसाद पाण्डेलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको छ। उनको नियुक्ति आगामी साधारण सभाबाट अनुमोदनका लागि पेश गरिने कम्पनीले जनाएको छ।
नयाँ स्वतन्त्र सञ्चालक नियुक्त भएपछि सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ अनुसार कम्पनीअन्तर्गत रहेका विभिन्न समितिहरू पुनर्गठन गरिएको छ। यसअघि गठन भएका समितिहरू विघटन गरी नयाँ संरचनाअनुसार समितिहरू गठन गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले लेखा समिति, जोखिम व्यवस्थापन समिति तथा सम्पत्ति तथा दायित्व समिति पुनर्गठन गरेको छ। पुनर्गठित समितिहरूले कम्पनीको वित्तीय पारदर्शिता, जोखिम नियन्त्रण तथा सम्पत्ति व्यवस्थापनसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
बैठकले लेखा समितिका संयोजकलाई पुनर्गठन गरिएका सबै समितिहरूमा पदेन सदस्य रहने निर्णयसमेत गरेको छ।