काठमाडौं । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ ।
काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०८२/८३ मा चिया निर्यातको परिमाण र आम्दानी दुवैमा कमी आएको हो ।
भन्सार कार्यालयको तथ्याङ्कअनुसार आव २०८२/८३ मा रु तीन अर्ब ५२ करोड ९६ लाख ६९ हजार बराबरको १३ हजार ४५ मेट्रिक टन चिया निर्यात भएको थियो भने आव २०८१/८२ मा रु चार अर्ब १६ करोड ९३ लाख ५८ हजार मूल्य बराबरको १५ हजार ३११ मेट्रिक टन चिया निर्यात भएको थियो ।
परिमाण घटेसँगै निर्यातबाट हुने आम्दानीबाट रु ६३ करोड ९६ लाख ८९ हजारको गिरावट आएको छ । प्रमुख भन्सार प्रशासक शिवलाल न्यौपानेका अनुसार यस नाका हुँदै निर्यात हुने वस्तुमा अलैँचीपछि चिया दोस्रो स्थानमा पर्ने गरेको छ ।