काठमाडौँ । म्यानमारकी पूर्व नेता तथा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकी करिब पाँच वर्षपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएकी छन् ।
सैन्य सरकारले सोमबार सार्वजनिक गरेका केही तस्वीरमा सुकीले अन्तर्राष्ट्रिय रेडक्रस समितिका म्यानमार प्रतिनिधि अर्नो डे बाकसँग भेटवार्ता गरेको देखिएको छ । सन् २०२१ मा सैन्य ‘कू’ पछि बाहिरी संसारसँग भएको उनको यो सबैभन्दा दुर्लभ सार्वजनिक सम्पर्क मानिएको छ ।
सैन्य सरकारले भेट सोमबार बिहान भएको जानकारी दिएको भए पनि भेट कहाँ भएको थियो र के–कस्ता विषयमा छलफल भयो भन्ने खुलाएको छैन ।
सार्वजनिक गरिएका तस्वीरमा ८१औँ जन्मदिनको अवसरमा सुकीले केक काटिरहेको दृश्य पनि देखिएको छ । तस्वीरमा उनी मुस्कुराएको र सामान्य अवस्थामा देखिए पनि उनको स्वास्थ्य अवस्थाबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।
सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएपछि सुकीलाई पक्राउ गरिएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी थिइन् भने बाहिरी संसारसँगको सम्पर्क पनि अत्यन्त सीमित रहँदै आएको छ ।