काठमाडौं । तामाकोशी जलविद्युत कम्पनीले निर्माण गरिरहेको तामाकोशी पाँचौं जलविद्युत आयोजनाको भौतिक प्रगति २१.६८ प्रतिशत पुगेको छ ।
९९.८ मेगावाट क्षमताको आयोजनाले वन क्षेत्रको स्वीकृति र जग्गा भोगाधिकारमा भएको ढिलाइका बाबजुद आर्थिक वर्ष २०८२/८३ मा सन्तोषजनक प्रगति हासिल गरेको कम्पनीले जनाएको छ । यस अवधिमा वित्तीय प्रगति २५.९० प्रतिशत रहेको छ ।
गौरिशंकर संरक्षण क्षेत्र आयोजनाको पत्राचारपछि रोकिएको निर्माण कार्य वन तथा वातावरण मन्त्रालयबाट २०८२ फागुन १९ गते स्वीकृति पाएपछि फागुन २४ देखि पुन: तीव्र गतिमा अघि बढेको हो ।
वन स्वीकृतिका कारण करिब ८ महिना काम ठप्प हुँदा वार्षिक १४.८९% को लक्ष्य हासिल हुन नसके तापनि काम सुरु भएको ४ महिनामै थप २.६८% भौतिक प्रगति थपिँदै आयोजनाको समग्र सञ्चित भौतिक प्रगति २१.६८% पुगेको छ ।
तीन प्रमुख ठेक्का प्याकेजमार्फत कार्यान्वयन भइरहेको आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल (लट–१) तर्फ संरचनागत निर्माण कार्यहरू द्रुत गतिमा भइरहेका छन् ।
पावरहाउसको ६४.७१% उत्खनन सकिई तेस्रो लेयरको काम सुरु भएको छ भने स्पिलवे सुरुङ (२७३.३ मिटर), ट्रान्सफर्मर क्याभर्न, र मुख्य पहुँच सुरुङ लगायतका भूमिगत संरचनाको उत्खनन तथा इनभर्ट कङ्क्रिटिङ सम्पन्न भइसकेको छ ।
त्यसैगरी, पाँच कार्यक्षेत्रबाट काम गर्दै मुख्य हेडरेस सुरुङको ७८४ मिटर (९.६७%) उत्खनन पूरा भएको छ । इलेक्ट्रोमेकानिकल तथा प्रसारण लाइन (लट–२) तर्फ ठेकेदारले ठेक्का सम्झौतासँगै प्रथम अग्रिम भुक्तानी पाएर डिजाइन कार्य अघि बढाएको छ भने स्थायी शिविर (लट–३) अन्तर्गतका कार्यालय, आवासीय भवन र पहुँच सडक निर्माण पूर्ण भइसकेका छन् ।
कुल २१ अर्ब ९५ करोड अनुमानित लागत रहेको यस आयोजनाको वित्तीय व्यवस्थापन ६५:३५ को ऋण–स्वपुँजी अनुपातमा नेपाल विद्युत प्राधिकरण र कर्मचारी सञ्चय कोषको त्रिपक्षीय सम्झौतामार्फत गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ सम्ममा ५.६९ अर्ब रूपैयाँ सञ्चित खर्च भई समग्र वित्तीय प्रगति २५.९०% पुगेको छ । समीक्षा वर्षमा मात्रै २ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको छ । कर्मचारी सञ्चय कोषबाट १ अर्ब २० करोड रुपैयाँ ऋण निकासा भई कुल ऋण निकासा १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ, जसले आयोजनाको निरन्तर निर्माणका लागि पर्याप्त वित्तीय स्रोत सुनिश्चित गरेको छ ।