काठमाडौं । अर्थमन्त्रीले नेपालका २० ठूला बहुराष्ट्रिय तथा ठूला करदाता कम्पनीका प्रतिनिधिलाई बोलाएर नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।
उद्योगी–व्यवसायीलाई सरकारले शंकाको दृष्टिले नभई साझेदारका रूपमा हेर्ने भन्दै अर्थमन्त्रीले भएका उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन आग्रह गरेका हुन्।
बैठकमा सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्शी शिवम् सिमेन्ट, डुसान इनरबिलिटी, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाललगायत २० ठूला कम्पनीका प्रतिनिधि सहभागी थिए।
अर्थमन्त्रीले नेपालका ठूला उद्योगी–व्यवसायीहरू केवल कम्पनीका प्रतिनिधि नभई ठूलो करदाता, रोजगारदाता, लगानीकर्ता र राष्ट्र निर्माणका साझेदार भएको बताए।
’नेपालको अर्थतन्त्रको रूपान्तरण कुनै एक मन्त्रालय, नीति वा संस्थाले मात्र गर्न सक्दैन,’ उनले भने, ’यसको नेतृत्व सरकार र निजी क्षेत्रले सँगै गर्नुपर्छ।’
पछिल्ला दिनमा उद्योगी–व्यवसायी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकको नेतृत्वसँग छलफल गरेको जानकारी दिँदै उनले ती छलफलबाट सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको निष्कर्ष आएको बताए।
’आज म यहाँ सरकारको धारणा सुनाउनभन्दा बढी देशका सबैभन्दा बढी लगानी गरेका र जोखिम उठाएका उद्यमीहरूको अनुभव सुन्न आएको हुँ,’ उनले भने।सरकारको प्राथमिकता अब कर संकलन बढाउनु मात्र नभएको उनले बताए।
उत्पादन, लगानी, नाफा र पुन:लगानीको चक्रलाई तीव्र बनाउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ। ’उद्योगले नाफा कमाउँछ। त्यही नाफा पुन:लगानी हुन्छ। पुन:लगानीले उत्पादन बढाउँछ। उत्पादनले रोजगारी सिर्जना गर्छ। रोजगारीले आम्दानी बढाउँछ र आम्दानीले बजार विस्तार गर्छ,’ उनले भने, ’अन्तत: त्यसबाट राज्यको राजस्व पनि बढ्छ।’
सरकार र निजी क्षेत्रबीचको सम्बन्ध शून्य–योगको नभएको भन्दै उनले दुवैको सफलता एकअर्कासँग जोडिएको बताए। अर्थमन्त्रीले नेपालमा वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताए।
उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको र कर प्रणाली पूर्वानुमेय रहेको महसुस गर्नुपर्ने उनको भनाइ छ। ’राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास उद्यमीले गर्न सक्नुपर्छ,’ उनले भने, ’त्यो विश्वास निर्माण नगरी ठूलो लगानी आउँदैन। उद्योग विस्तार हुँदैन। आर्थिक रूपान्तरण सम्भव हुँदैन।’उनले ठूला कम्पनीलाई नेपालमा अझ ठूलो लगानी गर्न आग्रह गरे।
’नेपालमा अझ ठूलो लगानी गर्नुहोस्। भएका उद्योग विस्तार गर्नुहोस्। नयाँ उत्पादनमा प्रवेश गर्नुहोस्। नयाँ प्रविधि भित्र्याउनुहोस्। नयाँ रोजगारी सिर्जना गर्नुहोस्,’ उनले भने, ’सरकार तपाईंहरूको साथमा उभिनेछ।’
बैठकमा सरकारले सुरु गरेका सुधारहरू व्यवहारमा कत्तिको प्रभावकारी देखिएका छन् भन्नेबारे उद्योगीको धारणा मागिएको थियो।
त्यस्तै व्यवसाय विस्तारका मुख्य अवरोध, कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था र सरकारी प्रक्रियामा गर्नुपर्ने सुधारबारे पनि अर्थमन्त्रीले सुझाव मागेका थिए।
आगामी ६ महिनाभित्र सरकारले गर्नुपर्ने पाँच महत्वपूर्ण निर्णयबारे समेत उनले ठूला करदातासँग स्पष्ट धारणा मागे।‘आजको बैठकमा म केवल सुझाव संकलन गर्न चाहन्नँ। म समाधानको कार्यसूची बनाउन चाहन्छु,’ उनले भने।
बैठकमा उठेका विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गर्ने उनले बताए। त्यसका लागि अर्थ मन्त्रालयले ’रेस्पोन्स डेस्क’ मार्फत निरन्तर अनुगमन गर्ने उनको भनाइ छ।यो संवाद एकपटकको कार्यक्रम मात्र नभई समस्या समाधान नभएसम्म निरन्तर चल्ने उनले बताए।
अर्थमन्त्रीले करदातालाई केवल राजस्वको स्रोतका रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्ने नीति सरकारले लिएको पनि बताए।
’नेपालमा इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउनु सरकारको दायित्व हो,’ उनले भने। सरकारले उद्योगी सफल हुँदा समाजले गर्व गर्ने, लगानीकर्ता सुरक्षित महसुस गर्ने, करदाता सम्मानित हुने र युवालाई उद्यम गर्न प्रेरणा मिल्ने वातावरण निर्माण गर्न चाहेको उनले बताए।
बहुराष्ट्रिय कम्पनीका २० ठूला करदातासँग अर्थमन्त्रीको छलफल सुरू, को-को छन् सहभागी ?