दिपक पराजुली ,
हेटौडा , २३ भाद्र- कन्सोर्टियम नेपालको आयोजना बाग्मती प्रदेश स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता बाल कल्याण समाज मकवानपुर र कन्सर्नको सहकार्य, सिविन र वर्ल्ड भिजन नेपालको सहयोग तथा समाजिक विकास मन्त्रालय बाग्मती प्रदेशको समन्वयमा भएको हो ।
भर्चुअल माध्यमबाट आयोजित प्रतियोगितामा बाग्मती प्रदेशका ११ वटा जिल्लाको प्रतिनिधित्व गर्दै प्रत्येक जिल्लाबाट १ जना बालिका र एक जना बालक गरि कुल २२ जना बीच प्रतिस्पर्धा गराईएको थियो । कन्सोर्टियम नेपालका कार्य समिती सदस्य साथै सचिवालय सदस्य प्रकाश खतिवडाको सभापतित्वमा आयोजित कार्यक्रममा बाग्मती प्रदेश सभा सदस्य मुनु सिग्देल प्रमुख अतिथीको रुपमा सहभागी थिईन भने अतिथिहरुमा बाग्गमती प्रदेशको समाजिक विकास मन्त्रालयकी महाशाखा प्रमुख ईन्दिरा ओझा, कन्सोर्टियम नेपालकी सल्लाहकार नूपुर भट्टाचार्य, बाग्मती प्रदेशको बाल अधिकार समिती सदस्य शान्ता बराल एवम झपेन्द्र ज्ञवाली, कन्सोर्टियम नेपालको सचिव प्रदिप कुमार लामिछाने लगायत बाल अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुका प्रमुख, बालक्लबका पुर्व सदस्यहरु, शिक्षक तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन कन्सोर्टियम नेपालको बाग्मती प्रदेश संयोजक प्रकाश वसीले गरेका थिए भने उक्त कार्यक्रमको व्यवस्थापन कन्सोर्टियम नेपालका अरज गौतमले गरेका थिए ।कोभिड १९ ले बालबालिकाको शिक्षा र स्वास्थ्यमा पारेको प्रभाव र न्यूनिकरणका उपायहरु विषयक उक्त कार्यक्रमको निर्णयक मण्डलको रुपमा कन्सोर्टियम नेपालको सचिव प्रदिप कुमार लामिछानेको संयोजकत्वमा, सदस्य प्रकाश खतिवडा र बाल सल्लाहकार समितीका सदस्य कृस्टीना निरौला रहेका थिए । उक्त कार्यक्रममा प्रथम तारा तामाङ, काभ्रे, दोस्रो सपना लामा, मकवानपुर र तृतिय कृस्टीना परियार नुवाकोट भए ।
कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य मुनु सिग्देलले कन्सोर्टियम नेपालले यस्तो बिषम परिस्थितीमा पनि बाल सहभागितालाई मध्यनजर गरि बालबालिकाको सहभागिता सहित सफलतापुर्वक कार्यक्रम सम्पन्न भएकोमा हार्दिक धन्यवाद ज्ञापन गरिन । साथै उनले प्रदेश सरकारको बाल सहभागिता कार्य ढाँचा तयार गर्न र बाल अधिकारको सुनिस्चिताको लागि आफु सदा कृयाशिल रहने बताईन ।यसैगरि, बाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयको महाशाखा प्रमुख ईन्दिरा ओझाले सामाजिक विकास मन्त्रालय संगको समन्वयमा आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा कन्सोर्टिम नेपाललाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भावी दिनहरुमा समेत सबै क्षेत्र वर्गको बाल सहभागितालाई सुनिश्चित गर्न कन्सोर्टियम नेपालसंग समन्वय र सहकार्य गर्न सकिने बताईन ।
कन्सोर्टियम नेपालकी सल्लाहकार नूपुर भट्टाचार्यले यस्तो कठिन परिस्थितीमा भर्चुअलको माध्यमबाट जोडिन कठिनाई भएता पनि कार्यक्रमले ज्ञान अभिवृद्धि र उत्साह पनि थपेको बताईन । कार्यक्रमको अन्त्यमा सभाध्यक्ष प्रकाश खतिवडाले बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको समन्वयमा कार्यक्रम हुन सकेकोमा खुसी व्यक्त गर्दै भावी दिनमा सरकारसंग हातेमालो गरेर बाल सहभागिता सुनिस्चितताको लागि लाग्न थप पेरित गरेको, प्रदेशिक र पालिका स्तरमा बाल सहभागिताको कार्यढाँचा बनाउनको लागि आवस्यक सहयोग गर्न कन्सोर्टियम नेपाल तयार रहेको जानकारी गराए ।
उनले विजयी विद्यार्थीलाई बधाई ज्ञापन गर्दै राष्ट्रिय स्तरमा हुने वक्तृत्वकला प्रतियोगितामा सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।
FACEBOOK COMMENTS