काठमाडौं । भोटेकोसी बाढीका कारण माथिल्लो त्रिशूली ३ ’ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार गर्न स्पेशल फोर्स परिचालन गर्ने तयारी सरकारले गरेको छ।
त्रिशूली ३ ’ए’ को टनेलमा रातभरि नै निरन्तर उद्धारको जारी राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। आज बिहान करिब ४ बजे आयोजना स्थलमा पुन: आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ।
नदीको सतह अत्यधिक बढेपछि त्यसले आयोजना क्षेत्रको किनार तीव्र रूपमा काट्न सुरु गरेको छ। तर पनि सरकारले पुन: पूर्ण सतर्कताका साथ आयोजना क्षेत्रको समग्र क्षति र परिस्थितिको अवलोकन गर्दै माटो तथा लेदो हटाउन पुन: डोजर र भारी उपकरणहरू परिचालन गर्ने तयारी गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
यसैगरी, पहिरो र माटोले पुरिएको त्रिशूली ३ ’ए’ को टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सहरू सुरक्षित रूपमा निकाल्न सरकारले हेलिकप्टरमार्फत ’स्पेशल फोर्स’ परिचालन गर्ने तयारी गरेको छ।
सडक पहुँच अवरुद्ध भएकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट टोली उतारेर ती महत्त्वपूर्ण उपकरणहरू निकाल्ने तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।