काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको नि:शुल्क भ्वाइस, डाटा र एसएमएस सेवा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ ।
यसअघि भदौ १४ गतेसम्मका लागि नि:शुल्क भ्वाइस कलसँगै प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो ।
अब भने राहत तथा उद्धार कार्यलाई सहज बनाउन उक्त सुविधा थप समयसम्म निरन्तरता दिइने भएको हो । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार नि:शुल्क सेवा उपयोग गर्न आग्रह गरेको छ ।
विपद्का कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मत–सम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालन भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार अधिकांश क्षतिग्रस्त संरचना पुन: सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना पनि यथाशीघ्र सुचारु गर्ने काम भइरहेको छ ।

विपद्को कठिन अवस्थामा नि:शुल्क भ्वाइस, डाटा र एसएमएस सेवाले प्रभावित क्षेत्रका नागरिकलाई आफन्त तथा उद्धार र राहतमा खटिएका निकायसँग सञ्चार सम्पर्क कायम गर्न महत्वपूर्ण सहयोग पुग्ने नेपाल टेलिकमको विश्वास छ ।