काठमाडौं । भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भएको ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ हालका लागि स्थगित गरिएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा हुने प्रदर्शनी बाढीपहिरोका कारण स्थगित गरिएको हो ।
आयोजकका अनुसार देशभर आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएको र नागरिकहरू कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु मानवीय दृष्टिले उचित नदेखिएकाले कार्यक्रम स्थगित गरिएको हो ।
त्यसैगरी, नेपाल सरकारको सुरक्षा सचेतना तथा भारत र चीन सरकारले आफ्ना नागरिकका लागि जारी गरेको ट्राभल एडभाइजरीलाई समेत ध्यानमा राखिएको आयोजकले जनाएको छ ।
सहभागी, प्रदर्शक तथा आगन्तुकहरूको सुरक्षा र यात्राको सहजतालाई प्राथमिकतामा राख्दै प्रदर्शनी स्थगित गरिएको हो ।

अवस्था सामान्य भई यातायात तथा पूर्वाधार सुचारु भएपछि प्रदर्शनीको नयाँ मिति सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
प्राकृतिक विपत्तिका कारण पर्न गएको असुविधाप्रति आयोजकले क्षमा माग्दै सहभागी तथा सरोकारवालाहरूको सद्भावप्रति आभार व्यक्त गरेको छ ।