काठमाडौं । काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुन: साविककै कायम हुने भएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबारदेखि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा ग्यास बिक्री गर्न उद्योगीलाई निर्देशन दिएको हो ।
त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभिर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास ल्याउन वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको थियो । त्यस क्रममा ढुवानी खर्च बढेपछि संघले निगमले तोकेको मूल्यमा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा थप गरी अधिकतम २ हजार १६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री गर्न उद्योगीलाई आग्रह गरेको थियो ।
अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक खोलेर यातायात सञ्चालनमा आएसँगै एलपी ग्यासका बुलेटहरू काठमाडौं आउन थालेका छन् । त्यससँगै वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्नुपर्ने अवस्था अन्त्य भएकाले साविककै मूल्यमा बिक्री गर्न संघले भनेको हो ।
संघका अध्यक्ष दिवान चन्दले शुक्रबारदेखि काठमाडौं उपत्यकामा बजारीकरण गर्ने सबै ग्यास उद्योगलाई निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन आग्रह गरे ।

संघले आफ्ना उद्योगीलाई सोहीअनुसार बिक्री वितरण गर्न तथा आ–आफ्ना विक्रेतालाई पनि मूल्यबारे जानकारी गराउन आग्रह गरेको छ ।