काठमाडौं । म्यानचेस्टर युनाइटेड फुलह्यामसँग १–१ गोलको बराबरीमा रोकिएको छ । फुलह्यामका लागि लिसान्द्रो मार्टिनेजको आत्मघाती गोलले अग्रता मिले पनि म्यानचेस्टर युनाइटेडका माटियस कुन्हाले खेल सकिन एक मिनेट बाँकी छँदा गोल गर्दै हार टारेका थिए ।
क्रेभन कटेजमा भएको खेलको दोस्रो हाफमा फुलह्यामले अग्रता लिएको थियो । ६३औँ मिनेटमा मार्टिनेजले आफ्नै पोस्टमा गोल गरेपछि घरेलु टोली १–० ले अगाडि बढेको थियो । त्यसपछि म्यानचेस्टर युनाइटेडले बराबरीका लागि निरन्तर प्रयास गरे पनि फुलह्यामको रक्षापंक्तिले लामो समयसम्म दबाब थेगेको थियो । तर ८९औँ मिनेटमा कुन्हाको प्रहार विपक्षी खेलाडीमा ठोक्किएर दिशाबिहीन बनेपछि गोलमा परिणत भएको थियो । बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् ।
यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको ५ खेलमा ५ अंक भएको छ र लिग मा १२औं स्थानमा झरेको छ । त्यस्तै फुलह्यामको ५ खेलमा २ अंक रहेको छ र १९औं स्थानमा छ ।