काठमाडौं । भोटेकोसी बाढीबारे संसद्ले विशेष समिति बनाएको छ ।
सभामुख डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधिसभा बैठकमा ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ गठन भएको घोषणा गरेका हुन् ।
१५ सदस्यीय समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का आठजना छन् । समितिमा रास्वपाबाट गणेश पराजुली, निशा डाँगी, अनुष्का श्रेष्ठ, सुजाता तामाङ, धनञ्जय रेग्मी, अचुतम लामिछाने, रविन्द्र पटेल, मिङमा ग्याबु शेर्पा सदस्य रहेका छन् ।
प्रतिपक्षी नेपाली कांग्रेसबाट मोहन आचार्य, उर्मिला थपलिया सदस्य छन् । नेकपा (एमाले)बाट पुष्पराज कँडेल र गंगा श्रेष्ठ सदस्य रहेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद रमेशकुमार मल्ल, श्रम संस्कृति पार्टीका ध्रुवराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा सदस्य छन् ।

समितिको कार्यअवधि पहिलो बैठक बसेको मितिले तीन महिना तोकिएको छ । समितिको सभापति भने समितिको बैठकबाटै तोकिने सभामुखले जानकारी गराए । तर, दलहरुबीच रास्वपा संसदीय दलका उपनेता पराजुलीलाई सभापति बनाउने सहमति भएको छ ।