नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध भइरहेको आलोचनालाई लिएर असन्तुष्टि जनाउँदै आलोचना र चरित्रहत्याबीच भिन्नता छुट्याउनुपर्ने बताएका छन् ।
केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सार्वजनिक जीवनमा रहेपछि प्रश्न र आलोचना सुन्नुपर्ने भए पनि तथ्यको खोजी नगरी आरोप लगाउने र अपुष्ट विषयलाई प्रमाणजस्तो प्रस्तुत गर्ने काम स्वीकार्य नहुने बताएका हुन् ।
‘ममाथि आक्रमण नयाँ होइन । राजनीतिमा आलोचना अस्वाभाविक पनि होइन । जो सार्वजनिक जीवनमा बस्छ, उसले प्रश्न सुन्नुपर्छ । जो राज्यको नेतृत्वमा पुग्छ, उसले जवाफ दिनुपर्छ । जो पार्टीको अध्यक्ष हुन्छ, उसले साथीहरूको कठोर समीक्षा पनि सहनुपर्छ,’ ओलीले भने ।
आफू आलोचनाबाट नभागेको दाबी गर्दै उनले आलोचना र चरित्रहत्या, प्रश्न र पूर्वनिर्धारित फैसला तथा छानबिनको माग र ‘सामाजिक हत्या’ एउटै कुरा नभएको बताए ।
तथ्यको खोजी नगरी आरोपलाई नाराका रूपमा प्रयोग गरिएको र अपुष्ट कुरालाई प्रमाणजस्तै प्रस्तुत गरिएको उनको आरोप छ । बाहिरका राजनीतिक विरोधीले प्रयोग गरेको भाषा पार्टीभित्रकै केही नेताकार्यकर्ताबाट समेत सुनिन थालेको ओलीले बताए ।
