काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन मंगलबार कतार एयरवेजबाट दोहा हुँदै न्युयोर्क प्रस्थान गर्दै छन् ।
प्रधानमन्त्री बनेपछि साहको यो पहिलो विदेश यात्रा भएकाले यसलाई चासोका साथ हेरिएको छ ।
यसअघि प्रधानमन्त्रीहरू विदेश जाँदा विमानस्थलमा विशेष समारोह आयोजना हुने गरेको थियो । मन्त्रीहरू, कुटनीतिक नियोगका पदाधिकारीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू विमानस्थलमा उपस्थित हुने गरेका थिए ।
सैनिक टुकडीले सलामी दिने(गार्ड अफ अनर) सहित रेड कार्पेटको बाटो हुँदै विमानसम्म प्रधानमन्त्रीहरू पुग्ने गरेकोमा यसपटक भने यस्ता कुनै समारोह नहुने जनाइएको छ ।
अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा उनलाई परम्परागत औपचारिक बिदाइ समारोहको कुनै कार्यक्रम तय भएको छैन । उनी बालुवाटारबाट सिधै विमानस्थल जाने र भीआइपी वे हुँदै विमानतर्फ जानेछन् ।

प्रधानमन्त्री शाहकी प्रेस सल्लाहकार दीपा दाहालले भनिन्, ‘प्रधानमन्त्रीज्यूज दिनभर सिंहदरबारमै व्यस्त हुनुहुन्छ, महत्वपूर्ण भेटघाटहरु छन् । त्यसपछि ६:२० बजे निवासबाट विमानस्थल प्रवेश गर्ने कार्यक्रम छ । ७ बजे कतार एयरवेजमार्फत न्यूयोर्क प्रस्थान गर्नुहुनेछ ।

दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कार्यवाहक नेपाली राजदूत कुमार राईले स्वागत गर्नेछन्। परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै न्युयोर्क पुगिसकेका छन्।

प्रधानमन्त्रीको भ्रमण दलमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, दुई जना सुरक्षाकर्मी र एक जना शिष्टाचार अधिकृत रहनेछन्। प्रधानमन्त्री शाह शनिबार काठमाडौं फर्कने कार्यक्रम छ।