काठमाडौं । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
महासंघको आह्वानमा सुनचाँदी, रत्न तथा आभूषण व्यवसायमा आबद्ध व्यवसायीबाट स्वेच्छिक रूपमा संकलन गरिएको रकम एकद्वार प्रणालीमार्फत सरकारी राहत कोषमा जम्मा गरिएको हो। संकलित रकममध्ये ४० लाख ५ हजार ५ सय ५५ रुपैयाँ महासंघका महासचिव नीरबहादुर विश्वकर्माको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।
महासंघका अनुसार संकलित बाँकी रकममा महासंघको कोषबाट थप गरी यस क्षेत्रसँग सम्बन्धित विपद् प्रभावित व्यवसायी, कालिगढ तथा पीडित परिवारलाई उनीहरूको अवस्था र आवश्यकताका आधारमा प्रत्यक्ष राहत उपलब्ध गराइनेछ ।
महासंघले विपद्को कठिन अवस्थामा सहयोग गर्ने व्यवसायी, पदाधिकारी, प्रदेश महासंघ तथा आबद्ध संघसंस्थालाई धन्यवाद दिँदै आगामी दिनमा पनि राहत, उद्धार तथा पुन:स्थापनाका कार्यमा सहयोग जारी राख्ने जनाएको छ ।