काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रलाई अत्यावश्यक सामग्री सहयोग गरेको छ।
असहाय, घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रलाई विभिन्न सामग्री हस्तान्तरण गरेको हो।
बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले केन्द्रका अध्यक्ष विष्ण्ॉ कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरे।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत प्रबिण मनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, कोशी प्रदेश प्रमुख दमयन्ती जोशीलगायत बैंक तथा केन्द्रका पदाधिकारीको उपस्थिति थियो।
बैंकले समुदायस्तरमा सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ। यसैबीच, नेपाल एसबिआई बैंकले इटहरी र इलामस्थित आफ्ना शाखा कार्यालयहरू नयाँ स्थानमा स्थानान्तरण गरेको छ। इटहरी उपमहानगरपालिका–१, धरान रोडमा रहेको इटहरी शाखा वडा नं.९ स्थित विष्ट कम्प्लेक्समा स्थानान्तरण गरिएको हो।

त्यस्तै, इलाम नगरपालिका–१, इलाम बजारमा रहेको इलाम शाखा वडा नं. ७ स्थित इलाम बजारमै नयाँ परिसरमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ। दुवै शाखाले नयाँ भवनबाट सेवा सञ्चालन सुरु गरेका छन्।

नयाँ शाखा परिसरको उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले गरेका थिए। नयाँ तथा सुविधासम्पन्न परिसरबाट ग्राहकलाई थप सहज र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने बैंकको अपेक्षा छ।

नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०४ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।