काठमाडौं । आइतबार बिहान बुढीगण्डकी नदीमा आएको बाढीका कारण निर्माणाधीन करिब ४१३ मेगावाटका आयोजनामा क्षति पुगेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को प्रारम्भिक तथ्यांक अनुसार बाढीले निर्माणाधीन ४ आयोजनाका करिब ४१३ मेगावाट क्षमतामा क्षति पुर्याएको छ ।
यस विपद्ले ती जलविद्युत् आयोजनाहरूमा भौतिक तथा संरचनात्मक क्षति पुर्याएको भए पनि मानवीय क्षतिको जानकारी भने आएको छैन ।
बाढीले टाइम्स इनर्जी प्रालिद्वारा प्रवद्र्धित ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणहरू पूर्ण रूपमा बगाएको छ । यो निजी क्षेत्रद्वारा प्रवद्र्धित अहिलेसम्मकै ठूलो अर्धजलाशययुक्त आयोजना हो ।
यस्तै, दोभान खोला हाइड्रोपावर लिमिटेडको स्वामित्वमा रहेको २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजना अन्तर्गत क्याम्प क्षेत्रका केही घरहरूमा क्षति पुगेको छ भने एउटा बेलिब्रिज समेत बाढीले बगाएको छ ।

त्यसैगरी ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजना (प्रवद्र्धक: यारु हाइड्रो पावर प्रालि) को बेलिब्रिजमा क्षति पुग्नुका साथै विभिन्न निर्माण सामग्री तथा उपकरणहरू बाढीले बगाएर लगेको छ ।

यसैगरी, वाटर इनर्जी डेभलपमेन्ट प्रालिद्वारा प्रवद्र्धित १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनाको पहुँच सडक (एक्सेस रोड) र आयोजना स्थल पुग्ने पुलमा बाढीले ठूलो क्षति पुर्याएको छ ।