काठमाडौं । पाकिस्तान र इरानबीचका प्रमुख सीमा नाका बन्द हुँदा दुई देशबीचको व्यापार प्रभावित भएको छ । गत अक्टोबर १७ देखि अनिश्चितकालका लागि बन्द गरिएका नाका लगातार चौथो दिन पनि सञ्चालनमा आउन नसक्दा सीमाका दुवैतर्फ हजारौँ मालवाहक गाडी रोकिएका छन् ।
बलुचिस्तान हुँदै हुने द्विपक्षीय व्यापार ठप्प हुँदा व्यापारीहरू आर्थिक नोक्सानीको जोखिममा परेका छन् । पाकिस्तान र इरानले सीमा बन्द गर्ने निर्णयलाई अस्थायी भने पनि नाका पुनः सञ्चालनमा आउने निश्चित समय भने सार्वजनिक गरेका छैनन् ।
बलुचिस्तान सरकारका प्रवक्ता तथा मुख्यमन्त्रीका सल्लाहकार शाहिद रिन्दका अनुसार सीमा बन्द गर्नुको उद्देश्य सुरक्षा व्यवस्था मजबुत बनाउनु, तस्करी नियन्त्रण गर्नु र सीमा व्यवस्थापनमा देखिएका समस्या समाधान गर्नु हो । प्रशासनिक समस्या समाधानका लागि प्रयास भइरहेको र चाँडै नाका खुल्न सक्ने उनले बताएका छन् ।
यता, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले प्राविधिक समस्याका कारण सावधानीस्वरूप सीमा बन्द गर्नुपरेको बताएका छन् । दुवै देशले फरक–फरक कारण प्रस्तुत गरेपछि सीमा बन्द हुनुको वास्तविक कारणबारे थप चासो बढेको छ ।
सीमा बन्दको प्रत्यक्ष असर व्यापारमा देखिएको छ । ग्वादर च्याम्बर अफ कमर्सका पूर्वअध्यक्ष शम्सुल हकका अनुसार गबद–रीमदान नाकामा मात्रै पाकिस्तानतर्फ करिब १ हजार ५०० मालवाहक गाडी रोकिएका छन् । ती गाडीमा चामल, आलु र केरालगायतका सामान छन् । इरानतर्फ पनि एलपीजी ग्यास बोकेका करिब ३ हजार कन्टेनर अलपत्र परेको उनले बताएका छन् ।

बोर्डर ट्रेडर्स एसोसिएसनका अध्यक्ष अब्दुल गफुरले फलफूल र सुक्खा मेवाजस्ता छिट्टै बिग्रने सामान बोकेका गाडी रोकिँदा व्यापारीले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आएको बताएका छन् । लामो समयसम्म सीमा नखुलेमा सामान बिग्रने र ढुवानी खर्च बढ्ने जोखिमसमेत रहेको छ ।

सीमा बन्द हुनुअघि अक्टोबर १६ मा पाकिस्तानको वाणिज्य मन्त्रालयले इरानबाट सामान आयात गर्दा प्रयोग हुँदै आएको इलेक्ट्रोनिक इम्पोर्ट फर्मसम्बन्धी विशेष छुट हटाएको थियो । त्यसको केही दिनअघि मात्रै इरानी राष्ट्रपति मसूद पेजेस्कियानको पाकिस्तान भ्रमणका क्रममा दुवै देशले द्विपक्षीय व्यापारलाई १० अर्ब अमेरिकी डलरसम्म पुर्याउने लक्ष्य व्यक्त गरेका थिए ।

इरानमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण बैंकिङ प्रणालीमार्फत व्यापारिक कारोबार गर्न कठिनाइ हुँदै आएको छ । त्यसैले सीमा क्षेत्रमा विशेष व्यवस्थामार्फत व्यापार सञ्चालन हुँदै आएको थियो । तर, इरानी सामानको बढ्दो आयात र त्यसले पाकिस्तानी घरेलु उद्योगमा पार्न सक्ने प्रभावका कारण सरकारले आयातसम्बन्धी नीतिमा कडाइ गरेको हुन सक्ने आर्थिक विश्लेषकहरूको धारणा छ ।

यसैबीच, क्वेटा च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले सरकारी नीति स्पष्ट नभएसम्म इरानबाट नयाँ सामान खरिद तथा आयातका लागि बुकिङ नगर्न व्यापारीहरूलाई आग्रह गरेको छ ।
सीमा नाका कहिले खुल्ने भन्ने स्पष्ट नहुँदा दुई देशबीचको व्यापारिक सम्बन्धमा थप जटिलता उत्पन्न हुने र त्यसको असर सीमावर्ती क्षेत्रका व्यवसायी तथा उपभोक्तासम्म पुग्न सक्ने देखिएको छ ।