काठमाडौं । फ्रान्सका लागि नेपालका पहिलो राजदूत मोहनकृष्ण श्रेष्ठ ग्लोबल अथर अवार्ड २०२६ बाट सम्मानित भएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा विश्वका विभिन्न देशका ४५ लेखक तथा स्रष्टासँगै श्रेष्ठलाई पनि सम्मान गरिएको हो ।
श्रेष्ठलाई कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी आफ्नो अनुभव तथा योगदानलाई पुस्तकमार्फत प्रस्तुत गरेको भन्दै सम्मान गरिएको हो । उनले सन् २०१५ अक्टोबरमा प्रकाशित गरेको ‘कूटनीतिमा तीन दशक’ नामक पुस्तकका लागि यो सम्मान प्राप्त गरेका हुन् ।
अवार्ड प्राप्त गरेपछि श्रेष्ठले पुस्तक प्रकाशन भएको करिब ११ वर्षपछि अन्तर्राष्ट्रियस्तरको सम्मान पाउँदा खुसी लागेको बताए । “आफ्नो ३१ वर्ष लामो परराष्ट्र सेवाको अनुभव, अध्ययन र ज्ञानका आधारमा तयार पारेको पुस्तकले करिब ११ वर्षपछि अन्तर्राष्ट्रियस्तरको सम्मान प्राप्त गर्दा निकै खुसी लागेको छ,” उनले भने ।
आफ्नो पुस्तक विभिन्न क्षेत्रका पाठकका लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै श्रेष्ठले भने, “यो पुस्तक विद्यार्थी, परराष्ट्र मामिलामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्बन्धका जानकारदेखि गृहिणीसम्मका लागि उपयोगी हुने विश्वास लिएको छु । कूटनीतिक सेवामा रहँदा मैले हासिल गरेका अनुभव र भोगाइलाई यसमा समेट्ने प्रयास गरेको छु ।”


श्रेष्ठले परराष्ट्र मन्त्रालयमा सहसचिवका रूपमा काम गर्दै ३१ वर्ष सेवा गरेका थिए । आफ्नो कूटनीतिक सेवाका क्रममा उनले विभिन्न आठ देशमा काम गर्नुका साथै ७४ देशको भ्रमण गरेका छन् ।
उनी सन् २०१० मा फ्रान्सका लागि नेपालको पहिलो राजदूत नियुक्त भएका थिए । नेपाल र फ्रान्सबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहे पनि आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउन विभिन्न पहल गरेको श्रेष्ठले उल्लेख गर्दै आएका छन् ।

फ्रान्सका अतिरिक्त उनी मोनाको, ग्रीस, पोर्चुगल र स्पेनका लागि पनि गैरआवासीय राजदूत नियुक्त भएका थिए । मोनाकोका लागि नेपालको पहिलो गैरआवासीय राजदूतका रूपमा उनले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

श्रेष्ठ सेन्टर फर डिप्लोमेसी एन्ड डेभलपमेन्टका संस्थापक अध्यक्षसमेत हुन् । उक्त संस्थाले कूटनीति, अर्थतन्त्र, महिला सशक्तीकरण, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
‘सीमापार साहित्यिक उत्सव’ मूल नारासहित आयोजना गरिएको ग्लोबल अथर अवार्ड २०२६ मा नेपालसहित विभिन्न देशका ४५ लेखक तथा स्रष्टालाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
इन्टिमिटी सर्भिसेज प्रालिको आयोजनामा भएको कार्यक्रममा साहित्य, संस्कृति, सिर्जनशीलता तथा परम्परागत सीपलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्य राखिएको थियो ।

नेपाल, भारत, संयुक्त राज्य अमेरिका, सिंगापुर, ब्राजिल, क्यानडा, बंगलादेश र संयुक्त अरब इमिरेट्सलगायतका देशका लेखक तथा स्रष्टाहरू कार्यक्रममा सहभागी भएका थिए ।
आयोजकका अनुसार नेपाली मौलिक साहित्य, संस्कृति, परम्परागत सीप तथा सिर्जनशीलतालाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराउनु अवार्डको प्रमुख उद्देश्य हो ।