
कार्यक्रममा तालिमप्राप्त कुकुरहरूले अपराध अनुसन्धान, विस्फोटक पदार्थ तथा हातहतियार पहिचान, खोज तथा उद्धार र आधारभूत अनुशासनसम्बन्धी सीप प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा सीमाक्षेत्रमा परिचालन हुने विस्फोटक पदार्थ तथा हातहतियार पहिचान गर्ने कुकुर, अपराधीको खोजीमा प्रयोग हुने ट्र्याकर डग र भूकम्पजस्ता विपत्का बेला भग्नावशेषमा पुरिएका मानिसको खोजी तथा उद्धारमा परिचालन हुने कुकुरले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । साथै, कुकुरलाई दिइने आधारभूत तालिम र अनुशासनसम्बन्धी अभ्याससमेत प्रदर्शन गरिएको थियो ।

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपत् तथा सुरक्षा चुनौतीका बेला महत्त्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन् । २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू पछिल्लो समय भोटेकोसी क्षेत्रमा आएको बाढीपहिरोजस्ता विपत्मा खोज तथा उद्धार कार्यमा खटिएका थिए ।


भोटेकोसी विपत्का क्रममा तीनवटा कुकुर परिचालन गरी कठिन भौगोलिक अवस्था, हिलो तथा मानिस पुग्न कठिन स्थानमा समेत खोजी गरिएको थियो । उक्त क्रममा कुकुरहरूले २० वटा शव फेला पार्न सहयोग गरेको थापाले जानकारी दिए ।



कार्यक्रमको अन्त्यमा कुकुरहरूको पूजा गरी टीका, माला लगाइदिनुका साथै मिठा खानेकुरा खुवाएर कुकुर तिहार मनाइएको थियो ।

मानिसको सुरक्षादेखि अपराध अनुसन्धान र विपत्का बेला खोज तथा उद्धारसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुकुरप्रति सम्मान र कृतज्ञता व्यक्त गर्दै सशस्त्र प्रहरीले कुकुर तिहार मनाएको हो ।
