काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीबीच राउटे समुदायको भाषा, संस्कृति, पहिचान तथा अधिकार संरक्षणका विषयमा छलफल भएको छ।
छलफलमा राउटे समुदायको मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षण तथा उनीहरूका आवश्यकता सम्बोधन गर्न आवश्यक नीतिगत व्यवस्थाका विषयमा कुराकानी भएको थियो।
सो अवसरमा राउटे समुदायका प्रतिनिधिहरूसँग समेत भेटघाट गरी उनीहरूका समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिइएको थियो। समुदायको मौलिक पहिचान कायम राख्दै शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा अधिकार सुनिश्चितताका लागि आवश्यक पहल गर्ने विषयमा छलफल भएको थियो ।
राउटे समुदायको परम्परागत जीवनशैली, संस्कृति र पहिचान संरक्षणका लागि वन क्षेत्रभित्र उपयुक्त स्थान छुट्याई उनीहरूको बसोबास तथा जीवनयापनलाई व्यवस्थित र सुरक्षित बनाउने विषयमा समेत छलफल भएको थियो ।