काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा भएका सम्झौताहरूबारे देशबासीलाई बताउनुपर्ने उल्लेख गरेका छन्।
पार्टी केन्द्रीय समितिको बैठकमा मंगलबार सम्बोधन गर्दै उनले भ्रमणले नेपालको दीर्घकालीन हित हुने उपलब्धी हासिल गर्न नसकेको भए पनि भ्रमणका बारेमा प्रधानमन्त्रीले देशवासीलाई जानकारी गराउनुपर्ने बताए।
नेपालको दीर्घकालीन हितसँग जोडिएका विषयमा सम्झौता भएको भएमा त्यसको स्पष्ट जानकारी दिन उनले माग गरे।
‘प्रधानमन्त्रीजीको भर्खर भारत भ्रमण भयो। केही उपलब्धिमूलक कुराहरू भएका छन्, स्वागत गरेका छौँ हामीले। सकारात्मक भनेका छौँ। नेपालका केही दीर्घकालीन हितका विषयका सन्दर्भमा हामी केही पनि देखिरहेका छैनौँ। प्रधानमन्त्रीले देशवासीलाई बताउनुपर्छ के–के भएका हुन्, उपलब्धिहरू के–के हुन्’ उनले भने।
अर्को प्रसंगमा थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्न प्रयोग नगर्न सरकारलाई चेतावनी दिए।

उनले सरकारमाथी प्रश्न उठाउनेलाई अनेक घेराबन्दी गर्ने गरिएको आरोप लगाए। सरकारको आलोचना गर्दा आफूलाई पक्राउ गर्ने हल्ला फैलाएको उनले बताए उनले त्यसबाट आफू नडराउने बताए। उनले आफूलाई पक्राउ गर्ने भए हत्कडी लिएर आउन चुनौती दिए।

उनले कांग्रेसले सरकारका राम्रा काममा साथ र सहयोग गर्ने तर गलत काममा निरन्तर प्रश्न उठाउने स्पष्ट पारे। सरकारमा रहेका व्यक्तिहरूले कांग्रेसलाई तर्साएर वा दबाबमा पारेर आफ्नो आलोचनात्मक भूमिका कमजोर बनाउन खोजे त्यो प्रयास सफल नहुने उनको भनाइ छ।
