काठमाडौं, माघ २६ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले लडाइँ हारिसकेको बताएका छन्।
एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘ओलीले पटक-पटक हारिरहेका छन्, हामी सत्यताको पक्षमा उभिएका हुनाले हामीले जितिरहेका छौँ, जित्छौँ।’
‘पार्टी एकतालाई बचाउनकै लागि पद छाड्दै हिँडेको र एकता जोगाउनका लागि प्रधानमन्त्री छाडेर अध्यक्ष भएर पार्टी चलाउँछु भनेर लागेको हुँ’ उनले भने, ‘पार्टीलाई अगाडि बढाउन राजनीतिक प्रतिवेदनले महत्वपूर्ण भूमिका खेल्छ।’
विधि र विचारको लागि लडेको बताउँदै हामीले पदको लागि लडाइँ लडेको भन्ने ओली गुटले चलाएको प्रचार मात्रै भएको बताए। ओलीले संघीयतामाथि प्रहार गरेर जनताबाट टाढा गएर लडाइँ हारिसकेको जिकिर गरे।
‘पार्टी एकताका सबै काम तीन महिनामा गर्ने भनेको तीन वर्षमा पनि सकेन, महाधिवेशनको छेउटुप्पै भेटिएन बरु पार्टी फुट्यो’ उनले भने, ‘ओली पार्टी र देशलाई अघि बढाउनुभन्दा आफ्नो स्वार्थमा केन्द्रित भइरहे।’
ओली शिक्षा क्षेत्रको विकास गर्न रोक्ने एक मात्रै व्यक्ति भएको दाबी गरे। ‘निवर्तमान शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले हाम्रोतर्फबाट शिक्षा क्षेत्र सुधारको लागि धेरै प्रस्ताव गएका छन्। त्यो सबै थन्किएको छ’ उनले भने, ‘प्रतिगमनलाई परास्त गरेपछि ओलीले थन्काएको सुझाव कार्यान्वयनमा जान्छ।’
ओलीले शिक्षक क्रान्तिकारी विचारको हुन्छन् भन्ने लागेर तर्सिरहेको बताए। उनले ओलीको विरुद्धको कदमलाई परास्त गर्नका लागि सबैलाई एकजुट भएर लाग्न आह्वान गरे।
‘ओलीले धेरै धक्कु गरिरहेका थिए। तर, अस्तिको प्रदर्शनपछि ओलीले आफैँ हारेको महसुश गरिसके’ उनले भने, ‘लाखौँको कुरा गरेर हिँडिरहेका थिए। उनकै सुरक्षाकर्मीले ३० देखि ३५ हजार मात्रै भएको बताएपछि थन्किसकेका छन्।’
FACEBOOK COMMENTS