प्रधानमन्त्रीले भने, ‘ए हो र ! तिनै पो रहेछन् !’
काठमाडौं, वैशाख २२ – अहिले सामाजिक सञ्जालदेखि पत्रपत्रिकाका हेडलाइनहरू ‘कोरोना भाइरसको यत्रो महामारीमा कहाँ हरायो निजी क्षेत्र’ भनेर बन्न थालेका छन् । भूकम्प होस या हावाहुरीमा अग्रस्थानमा देखिने निजी क्षेत्रको कोरोना माहामारीका बेला भने व्यापक खोजी हुँदा पनि उपस्थिति कहीँ कतै देखिएको छैन । निजी क्षेत्रको खोजी आम रूपमा भइरहेको भए पनि निजी क्षेत्रअन्तर्गतका केही कर्पोरेट हाउस र केही व्यापारीहरू भने कोरोना महामारीलाई पनि व्यापार बनाउन लागि परेको रहस्य उदाङ्गो भएको छ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको अष्ट्राजेनिका खोपको व्यावसायिक उत्पादन छिमेकी मुलुक भारतको पुणेस्थित सेरुम इन्स्टिच्यूट इण्डिया प्रालिले शुरू गर्यो । खोपको व्यावसायिक उत्पादन शुरू भएपछि भारतले नेपाललाई पनि १० लाख डोज खोप अनुदानमा दियो भने थप २० लाख डोज खोप प्रतिखोप ४ डलरमा किन्ने गरी सम्झौता भयो ।
बाँकी ५० लाख खोप सेरुमसँगै किन्न प्रस्ताव तयार हुँदै थियो । चीनले ८ लाख डोज खोप पठाउने बचन दिएको थियो । तीन करोड ३ लाख जनसंख्यामा १८ वर्ष मुनिका र गर्भवती महिला लगायतलाई खोप लगाउनुनपर्ने र झण्डै ४० लाख नेपाली देशबाहिर रहेको परिप्रेक्ष्यमा तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्ने प्रधानमन्त्रीको उद्घोष थियो ।
सेरुमसँग खरिद सम्झौता भएकोमध्ये अर्को १० लाख डोज खोप फागुन ५ गते नेपाल आइपुग्यो । यसैबीच फागुन २३ गतेदेखि नेपालले देशभरका ३ हजार खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान शुरू गर्दै ६५ वर्षमाथिकालाई अनिवार्य गरियो र आपतकालीन उपचारमा खोपको प्रयोग अनुमति दिइयो । अभियानमा प्रधानमन्त्री र ‘फस्र्ट लेडी’ राधिका शाक्य पनि खोप केन्द्रमा उपस्थित भएर खोप लगाए । त्यहाँ पनि प्रधानमन्त्रीले राष्ट्रव्यापी खोप अभियान शुरू गर्ने दक्षिण एशियामै भारतपछि नेपाल दोस्रो देश भएको गर्वका साथ सुनाए ।

दोस्रो चरणको खोप अभियान शुरू हुँदासम्म बिचौलियाहरूको दौडधुप शुरू भइसकेको थियो । नेपालले २० लाख डोज खोपका लागि सेरुमसँग सम्झौता प्रक्रिया अघि बढाउँदासम्म उनीहरूले पत्तै पाएका थिएनन् । खोप किन्ने निधो भइसकेपछि आफूलाई सेरुमको स्थानीय एजेण्ट हुकुम इन्टरप्राइजेजका साझेदार बताउँदै विजय दुगड र ऋतु सिंह बैद्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर मन्त्रिपरिषद्ले अनुमति दिए अनुसार १० प्रतिशत कमिशन समावेश गर्न माग गरे ।

सधैं राजनीतिमा समेत प्रभुत्व कायम राने विजय दुगड प्रधानमन्त्रीका अर्थ सल्लाहाकार मोतिलाल दुगडका भाइ हुन् भने ऋतु सिंह बैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्वध्यक्ष सुरज बैद्यका श्रीमती हुन् ।

सेरुमसँग खोप किन्ने सबै तयारी अन्तिम चरणमा पुगेपछि मात्र बैद्यले जानकारी पाए, जतिबेला उनी न्यूयोर्कमा थिए । खोप किन्ने अन्तिम चरणमा पुगिसकेकाले कमिशन समावेश गर्न नसकिने स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएपछि उनीहरूले खोप अभियानको पहिलो चरणमा खरिद गर्न लागिएको २० लाख डोज भ्याक्सिनमा कमिशन छूट गर्न मञ्जुर रहेको माइन्युट पनि गराए । तर, त्यसपछि उनीहरूको दौडधूप शुरू भयो ।
भारतमा दोस्रो लहरको कोरोना भाइरस महामारी शुरू हुनुभन्दा एक महिना अघि नै फागुनको दोस्रो सातातिरै सेरुमले अचानक बैद्य र दुगडको दबाबमा स्वास्थ्य मन्त्रालयलाई सम्झौता भइसकेको १० लाख डोज खोप दिन आनाकानी गर्दै स्थानीय एजेण्टमार्फत प्रक्रिया अघि बढाउन आग्रह गर्दै पत्र पठायो । जवाफमा स्वास्थ्य मन्त्रालयले सम्झौताअनुरूप खोप पठाउन सेरुमलाई आग्रह गर्यो । त्यतिबेलासम्म बैद्य र दुगडको पुणेमा दौडधुप तीव्र भइसकेको थियो ।
सेरुमले पत्र नै पठाइसकेपछि कमिशन एजेण्टको चालबाजी बुझेका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफ गरे । ‘हजुरहरूकै मान्छे हुन्, यस्तो चलखेल गरिरहेका छन् । के गर्ने हो ?’ जवाफमा प्रधानमन्त्रीले भने, ‘ए हो र ! तिनै पो रहेछन् ।’ त्यसभन्दा बढी प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रीसँग पनि केही भनेनन् । प्रधानमन्त्रीको आशय स्वास्थ्यमन्त्रीले नबुझ्ने कुरै भएन ।
बैद्य नेकपा एमालेसँग निकट व्यवसायी हुन् । प्रधानमन्त्री ओलीसँग उनको व्यक्तिगत सम्बन्ध छ । प्रधानमन्त्री ओलीले उनलाई नेपाल भ्रमण वर्ष, २०२० अभियानको संयोजकसमेत बनाएका थिए । लहरो तान्दै जाँदा फेरि खोप आपूर्तिमा पनि यसअघि महामारीको स्वास्थ्य सामग्री आपूर्तिकै घटना पुनरावृत्ति हुने जानकारहरू बताउँछन् ।
बैद्यले यसअघि पनि कमिशनको चक्करमा नेपाल एयरलाइन्सलाई चिनीयाँ जहाज किन्न लगाएर अहिले जहाज कवाडीमा पनि नबिक्ने अवस्थामा पुगेको छ । पैसाकै लागि राजनीतिक स्वार्थ समेत परिपूर्ति गर्दै आएका दुगड र बैद्य यत्रो महामारीमा केही कमिशनका लागि भ्याक्सिन नै अवरुद्ध गर्ने खेलले कर्पोरेट जगतको साख त गुमाउने नै छ भने फेरि पनि तलदेखि माथिसम्म पैसाको खेल भएको प्रस्ट देखिन्छ ।